कावासोती : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध भएको छ । बुधबार राति देखि परेको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएपछि सवारी चल्न सकेका छैनन् ।
कालीगण्डकी करिडोरको गैंडाकोट-डेढगाउँ खण्ड अन्तर्गत बुलिङ्टार गाउँपालिका-६ मा पर्ने फुलमती खोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनु भयो ।
उहाँ अनुसार उक्त पहिराले कालीगण्डकी करिडोरको सडक अवरुद्ध हुदाँको नवलपुरको पहाडी भेग सडक सम्पर्कसँग टुटेको छ । करिडोरमा पर्ने अधिकांश खोला बढेको र्केही स्थानहरुमा पहिरो खस्ने क्रम अझै नरोकिएको पाठकले बताउनु भयो । लगातार वर्षा भएकाले पहिरो पन्चाउने काम सुरु गर्न समेत नसकिएको पाठकले बताउनु भयो ।
बुधबार पुर्वी नवलपरासीको पहाडी क्षेत्र जोडने मुख्य सडक दलदले-कुमसोत-पोखरी खण्ड को पांग्रेमा पहिरो खसे पछि अवरुद्ध सडक खुल्न सकेको छैन । जिल्लाको गैंडाकोट र दलदलेबाट जोडने मुख्य सडकहरू अवरुद्ध हुँदा पहाडी क्षेत्र सडक सम्पर्कबाट विच्छेद भएको हो ।
प्रकाशित : २०७९ असोज २० गते १७:११
Facebook Comment