कानुन छले पनि विभेद गरेको भगवानले देख्छन् : महामन्त्री थापा

NAWALPUR TIMES

कानुन छले पनि विभेद गरेको भगवानले देख्छन् : महामन्त्री थापा
thumb 1

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धर्मशास्त्रले कुनै पनि विभेदको परिकल्पना नगरेको बताएका छन् । उनले नेपालमा संविधान र कानुनले सबै प्रकारका विभेदको उन्मूलन गरेर दण्डनीय बनाएपनि मान्छेहरूले कानुन छलेर विभेद गर्ने र विभेदपूर्ण मानसिकता राख्ने गरेको बताए ।

‘कुनै पनि धर्मशास्त्रले कुनै पनि प्रकारको विभेद गर भनेको छैन, यो हाम्रो व्यवहारको कुरा हो । हामीले संविधान र कानुन बनाएर त्यस्तो विभेदको अन्त्य गर्‍यौँ, दण्डनीय बनायौँ,’ उनले भने, ‘तर हामी नै फेरि त्यही कानुनलाई छलेर विभेद गर्ने, विभेदको मानसिकतालाई मलजल गर्ने गरिरहेका हुन्छौँ, यसलाई आजैदेखि सच्याउनुपर्छ ।’

काठमाडौंको बुढानिलकण्ठस्थित दलित महिला उत्थान केन्द्रद्वारा सञ्चालित डिआर मेमोरियल स्कुल सञ्चालनका लागि आयोजित सप्ताहव्यापी महायज्ञको उद्घाटन गर्दै महामन्त्री थापाले भगवानले कुनै पनि विभेदलाई स्वीकार नगर्ने बताए । ‘हामी सबै कुनै न कुनै रुपमा भगवानलाई मान्छौँ, कतै न कतै हाम्रो आस्था छ, त्यसैले हामीले कानुनलाई छलेर त विभेद गर्न सक्छौँ, अपराध गर्न सक्छौँ । तर त्यो विभेद गरेको भगवानले त देखिरहेका हुन्छन्,’ उनले भने, ‘भगवानले त्यस्तो विभेद स्वीकार्दैनन् ।’

उनले नेपाली समाजमा रहेका सबै प्रकारका विभेदको व्यवहारिक उन्मूलन गर्न आवश्यक रहेको बताए ।

‘मेरा दुई छोरी छन्, मैले कहिल्यै पनि मलाई छोरा नै चाहिन्छ भनेर सोचिनँ, मेरो नानीहरूलाई पनि त्यही सिकाएँ, छोरा र छोरीमा केही फरक छैन भनेर सिकाएँ,’ उनले भने, ‘तर उनीहरू जब हुर्किँदै गए, स्कुलमा पढ्दै गए, जति धेरै पढ्दै गए, त्यति उनीहरूलाई यो लैङ्गिक, जातीय र अन्य विभेदको कुराले प्रभावित पारेको छ, उनीहरुलाई मैले राम्रो सिकाए पनि समाजले त्यही कुरा सिकाइरहेको छ ।’

उनले धर्म, संस्कृति र संस्कारमा भएका गलत परम्परा र अभ्यासहरूलाई निराकरण गर्दै अघि बढ्नुपर्ने बताए ।

‘धर्मसंस्कृतिमा केही कमजोरी हुन सक्छन् । त्यो हिजो हामीले नै बनाएको हो, अब त्यसलाई सच्याउन जरुरी छ,’ उनले भने, ‘परिवर्तन आफैँले गर्ने हो, बाहिरबाट अरु कसैले आएर गरिदिँदैन । हामीले नै त्यो सुधारको संकल्प गर्ने हो ।’

०६० सालदेखि निःशुल्क रुपमा अनाथ, असहाय, टुहुरा, जोखिममा परेका तथा द्वन्द्वपीडित बालबालिकाहरूलाई शिक्षा, स्वास्थ्य तथा आवासीय सुविधा प्रदान गर्दै आएकोमा स्कुलको दिगो व्यवस्थापनका लागि समुदायमा आधारित भएर अक्षयकोष स्थापना गर्ने उद्देश्यले महापुराणको आयोजना गरिएको स्कुलकी संस्थापक अध्यक्ष राजन विश्वकर्माले बताइन् ।

महामन्त्री थापाले विद्यालयको अक्षयकोषका लागि ५० हजार १ रुपैयाँ हस्तान्तरण गरे । उनले अनाथ बालबालिकाको अभिभावक बनेको विद्यालयको दिगोपनाका लागि सबैलाई सहयोग गर्न समेत आव्हान गरे । महायज्ञमा पण्डित दिनबन्धु पोखरेलले कथावाचन गर्नेछन् भने चैत्र १९ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology