कागबेनीमा राहत र दीर्घकालीन तटबन्धका लागि आग्रह

NAWALPUR TIMES

कागबेनीमा राहत र दीर्घकालीन तटबन्धका लागि आग्रह
aannadan scaled 1

पोखरा । अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) ले गत साउन २९ गते मुस्ताङको कागबेनीमा गएको बाढीका कारण पीडित सर्वसाधारणलाई तत्काल राहत र नदीमा दीर्घकालीन तटबन्धको व्यवस्थाका लागि आग्रह गरेका छ्न ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त दिनको बाढीका कारण ३५ वर्ष पहिलेबाट निशुल्क भोजन र आवासको सेवा प्रदान गर्दै आएको मुक्तिनाथ अन्नदान क्षेत्र कागबेनीका सम्पूर्ण भौतिक संरचनामा क्षति पुुग्नुका साथै स्थानीयवासीले ठूलो क्षति व्यहोर्नुपरेको बताए ।

बाढीका कारण अतिथिको भोजन आवासका लागि आवश्यक खाद्यन्न, विस्तारा, सिरक डसना, कम्बल, सय जना लागि भोजन बनाउने ठूलाठूला भाँडाहरू, ३० वटा सिलिण्डर, मन्दिरका बहुमूल्य गहना, चाँदीका भाँडाकुुँडा लगायत सम्पूर्ण भौतिक संरचना गरी करिब ५ करोड बराबरको क्षति भएको उनले जानकारी गराए ।

तीर्थयात्रीहरूले अहिलेसम्म प्राप्त गरेको आधार गुमाउनुु पर्दा आफूूहरू दुखित भएको उल्लेख गर्दै उनले त्यसभन्दा पनि स्थानीयवासीले सामना गर्नुपरेको दुखले अझै चिन्तित बनाएको बताए । विपद्को यस अवस्थामा नेपाल तीर्थस्थल विकास राष्ट्रिय समिति र अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्टका माध्यमबाट यथासम्भव आपतकालीन राहत उपलब्ध गराउने जानकारी गराउँदै उनले भने, ‘संघ प्रदेश र स्थानीय तहसँग वास्तविक पीडित वर्गलाई क्षतिपूर्ति उपलब्ध गराई सो क्षेत्रमा पुनः यस प्रकारको दुखद घटना नदोहोरियोस् भन्नका लागि नदीमा दीर्घकालीन तटबन्धनका कार्य गरिदिन आग्रह गर्दछौं ।’ सहयोगका लागि विभिन्न व्यक्ति एवं संस्थासँग निरन्तर समन्वय गरिरहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङ र स्थानीय तहसँग सम्पर्क गरी सिधै पीडितसँग पुुग्ने प्रकारले यथासम्भव सहयोग गर्न पनि उनले सबैसँग आग्रह गरे । पत्रकार सम्मेलनमा मुक्तिनाथ सन्तसेवा आश्रम रामघाटका अध्यक्ष महेश पराजुुली, आचार्य सुदर्शन, उद्धव शर्मा लगायतले कागबेनीमा बाढीका कारण अपुरणीय क्षति भएको बताउँदै राहत तथा उद्धारका लागि सबैसँग आग्रह गरे ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology