कागजपत्र पुगेका २६ हजारभन्दा बढीले कोरोना बिमाको भुक्तानी पाएनन्

NAWALPUR TIMES

कागजपत्र पुगेका २६ हजारभन्दा बढीले कोरोना बिमाको भुक्तानी पाएनन्
1531469821beema

कोरोना बिमाको दाबी गरेका २६ हजारभन्दा बढीले सम्पूर्ण कागजपत्र पूरा गरे पनि दाबी भुक्तानी पाएका छैनन् । बिमा समितिको तथ्यांकअनुसार कोरोना बिमा पुलमा ५१ हजार ७ सय १७ वटा कोरोना बिमा दाबीको फाइल पुगेको छ । कागजपत्र पुगेका दाबी मात्र निर्जीवन बिमा कम्पनीहरूले बिमा पुलमा पठाउने गर्छन् । पुलमा पुगेको बिमा दाबी संख्यामध्ये २६ हजार ४ सय ४ वटा दाबीको अझै भुक्तानी नै भएको छैन ।

समितिका अनुसार ३ हजार ७ सय ३९ वटा दाबी प्रमाणीकरणको प्रक्रियामा छन् । ८ हजार ४० वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफाईका लागि अड्किएका छन् । ७ सय ४७ वटा दाबीका फाइल महाशाखामा पठाउनका लागि तयारी अवस्थामा छन् । त्यस्तै, २ हजार ७ सय २१ वटा दाबी कम्पनीहरूमा फिर्ता गरिएको छ । कागजपत्र पूरा नभएका कारण दाबी फाइल फर्काइएको समितिले जनाएको छ । १ सय ८३ वटा दाबी दोहोरो भएका कारण दाबी नलाग्ने भएका छन् भने १० हजार ९ सय ७४ वटा दाबी प्रक्रियामा नै रहेको समितिले जनाएको छ ।

 ६ महिनादेखि भुक्तानी पाएनन् बिमितले
वीरगन्जका नवराज फुँयालले गत भदौमा गरेको कोरोना बिमा दाबीको भुक्तानी अहिलेसम्म पाएका छैनन् । फँुयालले गत असारमा युनाइटेड इन्स्योरेन्समा पूरै परिवारको प्रतिव्यक्ति १ लाख रुपैयाँको कोरोना बिमा गरेका थिए । गत ४ भदौमा कोरोना परीक्षण गर्दा उनलाई पोजेटिभ देखियो ।

होम आइसोलेसनमा नै रहँदा उनले ७ भदौमा युनाइटेड इन्स्योरेन्समा बिमा दाबी गरेका थिए । दाबी गरेको केही महिनापछि कम्पनीले पिसिआर रिपोर्टमा हस्पिटलको पनि छाप चाहियो भनेर सम्पर्क गरेको उनले बताए । त्यसपछि उनले कम्पनीले माग गरेबमोजिमको कागजपत्र पनि बुझाए । तर, अहिलेसम्म कम्पनीले दाबी भुक्तानी नगरेको उनले गुनासो गरे ।

पोखराका सुरेन्द्र थापालाई गत असोज २५ गते कोरोना पोजेटिभ देखियो । उनले कार्यालयमार्फत युनाइटेड इन्स्योरेन्समा ५० हजार रुपैयाँबराबरको कोरोना बिमा गरेका थिए । कोरोनाबाट पूर्ण रूपमा मुक्त भएपछि उनले गत मंसिरमा कार्यालयमार्पmत नै दाबी प्रक्रिया अगाडि बढाए । तर, अहिलेसम्म भुक्तानी नपाएको उनले गुनासो गरे ।

भक्तपुरकी प्रतिभा श्रेष्ठलाई पनि गत असोज २ गते कोरोना पोजेटिभ देखियो । उनको कार्यालयले नेपाल इन्स्योरेन्स कम्पनीमा १ लाख रुपैयाँबराबरको कोरोना बिमा गराइदिएको थियो । त्यसैले गत असोजमा नै उनले कार्यालयमार्फत कोरोना बिमाको प्रक्रिया सुरु गरिन् । तर, अहिलेसम्म कम्पनी दाबी भुक्तानी नदिएको उनले बताइन् । त्यति मात्रै होइन, कम्पनीले कागजपत्र पुगे–नपुगेको विषयमा पनि जानकारी नगराएको उनले बताइन् ।

 २५ हजारले पाए कोरोना दाबी भुक्तानी
निर्जीवन बिमा कम्पनीहरूले करिब २५ हजार कोरोना बिमा दाबीको भुक्तानी गरेको छ । बिमा समितिको तथ्यांकअनुसार गत पुसको अन्तिमसम्ममा कागजपत्र पूरा भएका दाबीमध्ये २५ हजार ३ सय १३ को दाबी भुक्तानी भएको जनाएको छ । सो दाबी संख्याबापत कम्पनीहरूले २ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी गरेका छन् ।

विश्व महामारीका रूपमा फैलिएको कोरोना संक्रमणको जोखिमविरुद्ध बिमा समितिले गत वैशाख पहिलो सातादेखि कोरोना बिमा पोलिसी सञ्चालनमा ल्याएको हो । बिमा कम्पनीहरूले अपेक्षा गरेविपरीत नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि कम्पनीहरूले दाबी भुक्तानीमा आनाकानी गर्दै आएका थिए । तर, अर्थ मन्त्रालयले कागजपत्र पुगेको तीन दिनभित्रमा अनिवार्य रूपमा दाबी भुक्तानी गर्न निर्देशन दिएपछि भने कम्पनीहरूले भुक्तानी प्रक्रिया तीव्र पारेका हुन् ।

 तीन दिनभित्र भुक्तानी गर्र्ने अर्थको निर्देशन अझै कार्यान्वयन भएन 
कोरोना बिमा दाबीका लागि कागजपत्र पुगेको तीन दिनभित्रमा दाबी भुक्तानी गर्न अर्थ मन्त्रालयको निर्देशनलाई निर्जीवन बिमा कम्पनीहरूले अझै कार्यान्वयन गरेका छैनन् । मन्त्रालयको निर्देशनपछि तुलनात्मक भुक्तानी प्रक्रिया तीव्र भए पनि ६ महिनादेखि बिमितहरूले दाबी भुक्तानी नपाएको गुनासो गरेका छन् ।

यद्यपि, बिमा समितिले भने ५० प्रतिशतभन्दा बढी दाबीको भुक्तानी भइसकेको दाबी गरेको छ । कोरोना बिमा पुलमा आइपुगेका दाबीमध्ये आधाको भुक्तानी भइसकेको बिमा समितिका प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘अन्य दाबीहरू पनि प्रक्रियामा छन् । भुक्तानी प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।

बिमा समितिले १ लाख र ५० हजार रुपैयाँ बिमांक रकमबराबरको कोरोना बिमा सञ्चालनमा ल्याएको हो । १ लाख रुपैयाँसम्मको बिमालेखअन्तर्गत कम्पनीहरूले बिमा गर्दा प्रतिव्यक्ति १ हजार रुपैयाँ र परिवारको गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ ।

त्यस्तै, ५० हजार रुपैयाँ बिमांक रकमबराबरको बिमा गर्दा प्रतिव्यक्ति ५ सय र परिवारको गर्दा ३ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ । सामूहिक रूपमा कोरोना बिमा गर्दा सरकारले ५० प्रतिशत अनुदानको समेत व्यवस्था गरेको छ । त्यस्तै, चालू आवको बजेटमार्फत सरकारले राष्ट्र सेवकका लागि कोरोना बिमा निःशुल्क गरेको छ ।

कोरोना बिमाको दाबी भुक्तानीमा निर्जीवन बिमा कम्पनीहरूले आनाकानी गर्न थालेपछि अर्थ मन्त्रालयले गत १८ कात्तिकमा सात दिनभित्र दाबी भुक्तानी गर्न निर्देशन दिएको थियो । अर्थ मन्त्रालयको निर्देशनलाई अटेर गरेपछि गत मंसिर १८ मा अर्को निर्देशन जारी गर्दै अर्थ मन्त्रालयले कागजपत्र पुगेको तीन दिनभित्र दाबी भुक्तानी गर्न निर्देशन दिएको थियो ।- नया पत्रीका दैनिकमा खबर छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology