कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार

NAWALPUR TIMES

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार
thumb

शरीरको दाहिने भाग चल्न थाले पनि खतरामुक्त भने नभएको चिकित्सकको भनाइ

काठमाडौँ — कांग्रेस नेता तथा पूर्व उद्योगमन्त्री नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको छ ।  जोशीको उपचारमा संलग्न नर्भिक अस्पतालका न्युरोसर्जन डा. राजीव झाका अनुसार शुक्रबारको तुलनामा उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिए पनि खतरामुक्त भने छैन ।

शनिबार बिहान जोशीको शरीरको दायाँ भाग चल्न थालेको डा. झाले बताए । शनिबार बिहानदेखि बेहोस बनाउने औषधि चलाउन छोडेको पनि उनले बताए । ‘आज हामीले न्युरोलोजी एसेस गरेका छौं । बिहानदेखि बेहोस बनाउने औषधि चलाउन छाडेका छौं । आज उहाँको स्पोन्टेनियस रेस्पिरेसन(आफैले श्वास फेरेको) रेट ६–७ वटा छ । सामान्यतया हुनुपर्ने १२-१५ वटा हो । उहाँमा यो ५० प्रतिशत देखिएको छ ।’

त्यस्तै दायाँपट्टिको भाग र हातखुट्टा चले पनि बायाँ भागमा भने प्यारालाइसिस भएको डा. झाले बताए । ‘शनिबार बिहानदेखि दायाँपट्टिको शरीरको भाग हातखुट्टाहरु चल्न थालेका छन् । देब्रेपट्टि प्यारालाइसिस भएकै देखिन्छ । बाँकी प्यारामिटरहरु ठीकै ठीकै छ । उहाँ कोमामै हुनुहुन्छ । अवस्था अलि गम्भीर नै छ । हिजोभन्दा केही सुधार भएको देखिन्छ तर खतरामुक्त भने हुनुहुन्न,’ उनले भने । जोशीलाई बिहीबार राति मस्तिष्कघात भएपको थियो । अहिले उनको नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

शुक्रबार टाउकोको टाउकोको सिटिस्क्यान गर्दा दिमागमा रगत र पानी जमेको पाइएको पनि डा. झाले बताएका थिए । शुक्रबार बिहान टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (ईभीडी) राखिएको र १ सय ३० एमएल जति पानी निकालिएको पनि डा. झाले बताए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology