कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइयो: रामचन्द्र पौडेल

NAWALPUR TIMES

कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइयो: रामचन्द्र पौडेल
1628478149911

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन समयमा हुन नसक्ने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा पुर्‍याइएको टिप्पणी गरेका छन्।

उनले महाधिवेशन समयमा हुन नसक्नु नेतृत्वको चरम असफलता र लापरबाही रहेको र असफलहरू नै बारम्बार सत्तामा पुग्नु विडम्बना रहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुक पेजमा नेता पौडेलले आफ्नो असन्तुष्टि पोखेका छन्।

क्रियाशील विवादले कांग्रेसको महाधिवेशन सर्दै गएको छ। उक्त विवाद बारे कार्यदलले आफ्नो रिपोट बुझाइसकेको छ। अन्तमा पार्टीका तीन नेताहरू सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलाले विवाद मिलाउन जिम्मेवारी पाएका छन्।

कांग्रेस महाधिवेशन समयमा नभए पार्टीको अस्तित्व के हुने बारेमा पनि बहस भइरहेको छ। निर्वाचन आयोगलाई अनुरोध गरेर केही समय लिने तिर कांग्रेसमा चर्चा शुरु भएपछि नेता पौडेलको यस्तो टिप्पणी आएको हो।

वरिष्ठ नेता पौडेलले फेसबुकमा लेखेका छन्:-

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।

आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । 

यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ? 

यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।’

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology