कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थाल्यो

NAWALPUR TIMES

कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थाल्यो
congress2019 05 08

काठमाडौं – महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ। संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी छ।

‘१४ औं महाधिवेशनमा सनातन हिन्दूराष्ट्रको एजेन्डालाई सशक्त रूपमा उठाउँछौं’, केन्द्रीय सदस्य शंकर भण्डारीले भने, ‘हिन्दू धर्म नेपालको राष्ट्रिय पहिचान हो। हाम्रो राष्ट्रियता हो। यसलाई स्वीकार गर्नेलाई पार्टीमा स्थापित गराउनु हाम्रो अभियान हुनेछ।’

संविधानमा रहेको धर्मनिरपेक्षताप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता खुमबहादुर खड्काले पार्टीभित्र र बाहिर हिन्दूराष्ट्रको पक्षमा बहस चलाएका थिए। तर, उनको निधनपछि उक्त मुद्दा पार्टीमा मलिन रूपमा उठे पनि त्यसले दबाब सिर्जना गर्न सकेन।

खड्कानिकट केन्द्रीय सदस्य भण्डारीलगायत नेताले हिन्दूराष्ट्रका पक्षमा आवाज उठाउँदै आएका छन्। काठमाडौंमा दुई वर्षअघि सम्पन्न महासमिति बैठकमा सहभागी १ हजार ४ सय सदस्यमध्ये करिब ७ सयले हिन्दूराष्ट्रका पक्षमा हस्ताक्षर बुझाएका थिए। त्यसलगत्तै बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू बालकृष्ण खाँण, एनपी साउद, डा. शेखर कोइरालालगायतले पनि धर्मनिरपेक्षताका ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्ने माग चर्काे रूपमा उठाएका थिए।

यसअघि मौसमी रूपमा कांग्रेसमा धर्मको विषयले चर्चा पाउँदै आए पनि महाधिवेशन नजिकिएसँगै शीर्ष नेता हिन्दूराष्ट्रका विषयमा बोल्न थालेका हुन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology