काँग्रेसले ओलीबाट सत्ता झर्ला र खाउँला भन्ने नसोचे हुन्छः डा. बाबुराम भट्टराई

NAWALPUR TIMES

काँग्रेसले ओलीबाट सत्ता झर्ला र खाउँला भन्ने नसोचे हुन्छः डा. बाबुराम भट्टराई
Baburam Bhattarai

काठमाडौं। जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन नसकेको बताएका छन्। संसद् विघटनविरुद्ध काठमाडौंमा आइतबार जसपाले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता भट्टराईले अदालतलाई सुनाउन पनि संघर्ष गर्नुपर्ने बताए।

उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सडक संघर्षमा उत्रन पनि आग्रह गरेका छन्। ‘अदालतको झिनो भरमात्रै छ। अदालतलाई सुनाउन यस्ता विरोध कार्यक्रम गर्नुपर्छ,’ उनले भने। प्रतिनिधि सभा सुचारू गर्न अहिले पनि सकिने भट्टराईले बताएका छन्। सडक संघर्षबाटै प्रतिनिधि सभा पुनर्स्थापना गर्न सकिने उनले बताए।

भट्टराईले केपी ओलीले घोषणा गरेको चुनाव हुने र आफू ठूलो दल हुने आस नगर्न कांग्रेसलाई सुझाए। उनले अहिले संसद् विघटन गरी चुनाव गर्ने नाममा ओलीले विषको भाँडोमा माथि अमृत देखाएको टिप्पणी गरे। उनले भने, ‘अमृतलाई हेरेर कांग्रेसलाई नलोभिन हाम्रो आग्रह छ। ढुलमुले पाराले ओलीबाट सत्ता झर्ला र खाउला भन्ने कांग्रेसले नसाचे हुन्छ।’

संसदमा बहुमत हुँदाहुँदै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको उनले बताएका छन्। ओली पहिलेदेखि नै गणतन्त्र, संघीयताविरोधी रहेको उनले बताए। ‘कम्युनिष्ट भन्ने अनि अयोध्या बनाउने? सुकुम्बासीको घर छैन,’ उनले भने, ‘यस्तो मानिसलाई हामीले प्रधानमन्त्री बनायौं यही गल्ती भयो।’

चुनाव घोषणा गरेपछि पनि मन्त्रिपरिषद विस्तार गर्न नैतिक रूपमा नमिल्ने पनि उनले बताए। ‘प्रधानमन्त्री ओलीले संसदमाथि प्रहार गरे, यो त्यतिकै रोकिनेवाला छैन। विभिन्न निकायमा उनले खल्तीबाट मानिस राखेका छन्,’ काठमाडौंमा आज जसपाले गरेको प्रदर्शनपछि कोणसभामा बोल्दै उनले भने, ‘चुनाव घोषणाको नाटक गर्ने अनि मन्त्रिपरिषद विस्तार गर्ने? यस्तो गर्न प्रधानमन्त्रीले मिल्छ?’

उनले आफू प्रधानमन्त्री भएका बेला १२ वटा मन्त्रालय खाली रहे पनि ९ महिनासम्म मन्त्री नबनाएको बताए। ‘म प्रधानमन्त्री हुँदा १२ मन्त्रालय खाली थियो। मैले ९ महिनासम्म कुनै मन्त्री थपिनँ, रेकर्डमा हेर्नुस्. यो नैतिकताले मिल्दैन,’ भट्टराईले भने। प्रधानमन्त्री ओलीले सडकबाट टिपेर मन्त्रीहरू बनाइरहेको भन्दै भट्टराईले विरोध गरेका छन्। ‘सडकबाट टिपेर मन्त्री बनाउने? प्रधानमन्त्री ओलीमा कति दम्भ छ भन्ने यसबाट देखिन्छ,’ उनले भने।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology