कहिले सकिएला कावासोती-कुमसोत-बोझापोखरी सडकको स्तरोन्नति ?

NAWALPUR TIMES

कहिले सकिएला कावासोती-कुमसोत-बोझापोखरी सडकको  स्तरोन्नति ?
1688191360144

कावासोती । करिब ३ दशकअघि जिल्लाको पहाडी क्षेत्रलाई जोड्ने गरी खोलिएको कावासोती – कुमसोत–बोझापोखरी सडक स्तरोन्नतिको काम नसकिँदा चालक तथा यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् ।

यस सडकखण्डले जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली, बुलिंगटार र हुप्सेकोट गाउँपालिकाको केही वडालाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने काम गर्दछ ।

पहाडी क्षेत्रलाई राजमार्ग तथा सदरमुकामसँग जोड्ने मुख्य सडक जीर्ण हुँदा यात्रा सधैँ कष्टपूर्ण हुने गरेको बौदीकाली–५, बबकका स्थानीय गेसबहादुर रानाले गुनासो गरे ।

कावासोती–कुसोत –बोझापोखरी–धौबादी हुँदै बौदिकाली र बोझापोखरी–अर्खला हुँदै बुलिंगटारसम्म यो सडक जोडिएको छ । करिब ४५ किलोमिटर लम्बाइको यो सडक कालिगण्डकी करिडोरमा गएर जोडिन्छ ।

जिल्लाकै पहाडी क्षेत्र जोड्ने मुख्य सडकको स्तरोन्नति नहुँदा पहाडी क्षेत्रका बासिन्दाले कष्टपूर्ण र जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको रानाले गुनासो गरे ।

पहाडी जिल्लाको प्रवेशद्वाररुपमा रहेको कुमसोत–बोझापोखरी खण्डमा वर्षामा पटकपटक पहिरो जाने समस्या रहेको छ । पांग्रेर क्षेत्रमा पहिराको समस्याले वर्षामा विभिन्न समय यातायात पूर्णरुपमा अवरुद्ध हुने गरेको पाङ्गे्रका तुलबहादुर रानाले बताए ।

पोखरी–बुलिंगटार खण्डको अर्खलामा समेत पहिराको समस्या कायम रहेको छ । बाटो स्तरोन्नतिको काम गर्दा पहिरो नियन्त्रणका उपाय नखोज्दा यहाँ सधैँको समस्या हुने गरेको उनको भनाइ छ ।

पहाडी क्षेत्र जोड्ने सडक जीर्ण हुँदा सो क्षेत्रमा अन्य विकासका पाटो ओझेलमा पर्ने गरेको छ । सुन्तला, अदुवा, अमिलो, अमृसो, भुइँकटर लगायतका कृषि उत्पादन प्रचुर हुने गरेको भए पनि यातायातकै समस्याका कारण सहज रुपमा बजारिकरण हुन नसकेको बौदिकाली–४, का कृषक पदमबहादुर पुलामीले बताए ।

कावासोती–हात्तीखोर–कुमसोत खण्डसमेत स्तरोन्नतिको काम हुन सकेको छैन । जिल्लाको सदरमुकामदेखि पहाडी क्षेत्र छिचोल्दै प्रदेश राजधानी पोखरा जोड्ने सडकको रुपमा समेत रहेको यस खण्ड निर्माणको काम थालिएपनि पूर्णता पाउन सकेको छैन ।

नवलपुरको पहाडी क्षेत्रको प्रमुख पहुँचमार्गको रुपमा रहेको कावासोती–कुमसोत–बोझापोखरी–कोखेटार सडक स्तरोन्नतिको काम विसं २०७४ मा सुरु गरिएको थियो ।

३ वर्षमा सम्पन्न गर्ने योजनाका साथ सडक स्तरोन्नतिको काम सुरु गरिएको थियो । यस अवधिका कामले पूर्णता नपाएपछि पटकपटक म्याद थप गरेपनि काम पूरा हुन सकेन ।

कावासोती–कुमसोत–बोझापोखरी पहिलो खण्ड र बोझापोखरी–अर्खला–कोखेटार गरी २ खण्डमा काम गरिएको थियो ।

पहिलो खण्डमा १४ किलोमिटर कालोपत्रे गर्ने र ६ किलोमिटर ग्राभेल गर्ने, दोस्रो खण्डमा २० किलोमिटर ग्राभेल गर्ने गरी काम गरिएकोमा दोस्रो खण्डको काम सकिएको भए पनि पहिलो खण्डको काम बाँकी रहेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर राजेन्द्र महर्जनले बताए ।

पछिल्लोपटक थपिएको म्याद गएको चैतमा सकिएको छ । पहिलो खण्डमा करिब ८ किलोमिटर कालोपत्रे गर्ने र ६ किलोमिटर ग्राभेल गर्ने काम बाँकी छ ।

निर्माणको म्याद सकिएकाले अब सरकारले केन्द्रबाट म्याद थप गरे काम अघि बढ्ने नत्र निर्माण कम्पनीलाई जरिवाना गरी अर्को प्रक्रियाका सुरु हुने उनले बताए ।

पहिलो खण्डमा सन्तोषी–रौताहा–हरिहरि जेभी र दोस्रो खण्डमा पप्पुकोशी–न्यौपाने–बन्धना भगवती जेभीले निर्माणको काम गरेका थिए ।

दुवै खण्ड गरी करिब ८४ करोड ९८ लाख ८ हजार २ सय ४१ मा सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएको थियो ।रासस

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology