कविता: मेरी सुस्ता

NAWALPUR TIMES

कविता: मेरी सुस्ता
Krishna Adhikari Photo

मेरी सुस्ता

–कृष्ण अधिकारी

वर्षौंदेखि अन्धकारको पछ्यौरी ओढेर
छिमेकीबाट पेलिएर
आफन्तैबाट हेपिएर
उपेक्षाको जहर पिउँदै
आएकी सुस्ता
आज घामको पारिलो प्रकाशले
झलमल्ल भएकी छन्
नववधु झैं
विकासको ओछ्यानमा सुहागरात मनाउँदैछिन्

 

रात पनि दिन जस्तै
सौर्य मिनीग्रिडले पूर्णिमा पोखिरहेछ।
सूर्य देवता साक्षात् उनको आँगनमा ओर्लिएको दिन
चारैतिर झलमल्ल उज्यालोले हरदिन दीपावली भएको छ।

उनी आज फुरुङ्ग छिन्
घरैछेउ सुरक्षाकर्मीको उपस्थितिले
अब उनको यौवनमा कसैको आँखा लाग्ने छैन
नारायणीको चिसो सिरेटोले
घरिघरी उनको पछ्यौरी हल्लाउँदा
उखुबारीमा चराहरुको चिर्बिरको सङ्गीतसँगै
पहेंलपुर तोरीबारीको मगमग बासनाले
उनको जवानीलाई अझै निखरता थप्ने गर्छ।

 

लाग्छ, मेरी सुस्तालाई विस्तारै राज्यले चिन्दैछ
हेपाइ र उपेक्षाको पीडामा
ममता र आत्मीयताको मल्हमले एकताको डोरीमा कस्दैछ
सुस्ता नयाँ जीवनमा फर्किएकी छन्
असङ्ख्य सम्भावनाको सुखद् यात्रामा लम्किएकी छन्
गणतन्त्रको पारिलो घाममा विस्तारै फर्किंदैछिन् ।

विचौर, लमजुङ
हालः टोखा, काठमाडौँ

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology