कविता : धुरुधुरु रोएको लोकतन्त्र !

NAWALPUR TIMES

कविता : धुरुधुरु रोएको लोकतन्त्र !
FB IMG 16157379939403250

गुरुराज घिमिरे-

मैले दिनभरी भारी बोकेर
किनेको दुईकिलो चामलमा
तिरेको करबाट
तनखा बुझ्ने सिपाहीले
जब मेरो ढाडमा
निर्मम् लाठी बर्साउँछ
मैले दिनभरी गिट्टी कुटेर
किनेको खानेतेलमा
बुझाएको करबाट
तलव बुझ्ने खरदारले
जब मेरो दरखास्त फाल्छ
मेरो मतले दर्जा पाएको
र जीवन चलाएको जनप्रतिनिधिले
मलाई सदैव भेडाबाख्रा ठान्छ
मैले बनाएको झुप्रोमा
जब सरकारले डोजर चलाउँछ
अनि मेरो लोकतन्त्र
धुरुधुरु नरोएर के गर्नु ?
म बिरामी हुँदा
अस्पतालको ढोका खुल्दैन
परिक्षाको संघारमा
शुल्क नबुझाएको कसुरमा
जब मेरा नानीहरूको
स्कुलबाट नाम काटिन्छ
खुला बजारमा
मेरी छोरीलाई दुर्व्यवहार गर्ने
उन्मत्त साँढेहरुसँग
जब अड्डाका हाकिमहरु
सँगै बसेर मदिरा पिउँछन
मेरो छोराको मृगौला बेच्ने दलालसँग
अस्पतालको सरदारले
जब निर्लज्ज मितेरी लाउँछ
अनि मेरो लोकतन्त्र
धुरुधुरु नरोएर के गर्नु?
जहाँ बदमासहरुको
पेशा फस्टाउँछ र मौलाउँछ
हरेक दिन इमानको लिलाम हुन्छ
नैतिकताको चिरहरण गरिन्छ
देशभक्ति दण्डित हुन्छ
राजनीतिका छट्टु व्यापारीहरु पुजिन्छन्
देशको मुखिया बकवास गर्छ
बिधि र व्यवस्थाको धज्जी उडाउँछ
अग्रजहरुको अपमान गर्छ
अनि मेरो लोकतन्त्र
धुरुधुरु नरोएर के गर्नु ?
सोध्छन् मान्छेहरु मलाई आजकल
तेरो लोकतन्त्रको के हालचाल छ?
म स्तब्ध, नि:शब्द र अवाक्
के उत्तर दिनु र!
धुरुधुरु रोइरहेको
मेरो लोकतन्त्रको
साच्चै बेहाल छ!!

(कवि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य हुन ।)

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology