कावासोती । नवलपुरमा रहेको यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।
कार्यालयमा आवश्यकतानुसार कर्मचारी अभाव हुँदा सहजरूपमा सेवा प्रदान गर्न समस्या हुने गरेको कार्यालय प्रमुख टेकबहादुर घर्तीमगरले जानकारी दिनुभयो । कार्यालयमा १८ जनाको दरबन्दीमा सात जनामात्रै कर्मचारी रहेको उहाँले बताउनुभयो । करारमा रहेका छ कर्मचारी हटेसँगै थप समस्या भएको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षदेखि करारमा कर्मचारी नियुक्ति नगर्ने प्रदेश सरकारको नीति रहेको छ । कर्मचारी कम हुँदा कार्यालयबाहेकको समयमा समेत सेवाग्राहीको आवश्यकता हेरी सेवा दिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
कार्यालयमा कर्मचारी कम भएपछि पालैपालो बिहान बेलुकाको समयमा सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा लिने गरेको कार्यालय प्रमुख घर्तीमगरले बताउनुभयो ।
समयमा काम गर्न नसक्दा सेवाग्राहीको गुनासो बढ्न सक्ने भएकाले थप कर्मचारीको व्यवस्थापन गर्न प्रदेश सरकारसँग उहाँले आग्रह समेत गर्नुभयो । पूर्व– पश्चिम राजमार्गको मध्यभागमा रहेको कार्यालय हुँदा सवारी चालक अनुमतिपत्रका लागि यस कार्यालयमा धेरै सेवाग्राही आउने गरेका छन् ।
यसैबीच कार्यालयले गत आर्थिक वर्षमा रु ३१ करोड बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा कार्यालयबाट उपलब्ध विभिन्न सेवासुविधा प्रवाह गरेवापत रु ३१ करोड ६६ लाख ४८ हजार ४५ राजस्व संकलन गरेको कार्यालय प्रमुख घर्तीमगरले जानकारी दिनुभयो ।
आव २०७८÷७९ मा रु २६ करोड ६६ लाख ६९ हजार पाँच सय ४८ राजस्व संकलन भएको थियो । गत आवमा यातायात क्षेत्रको आम्दानी, प्रशासनिक सेवा शुल्क, चालक अनुमतिपत्र, सवारी दर्ता किताब, सवारीसाधन कर सङ्कलन, सवारी आयकरलगायत सेवा शुल्कमा केही रकम वृद्धिसँगै पहिलेको तुलनामा गत आवमा रु चार करोड ९९ लाख ७८ हजार चार सय ९७ बढी राजस्व संकलन भएको हो ।
सवारीसाधन लाइसेन्स नवीकरण, परीक्षणकालीन लाइसेन्स वितरण, स्मार्ट कार्डलगायत सवारी दर्ता लगायतको सेवा कार्यालयले उपलब्ध गराउँदै आएको छ ।रासस
प्रकाशित : २०८० साउन १४ गते १३:३०
Facebook Comment