कक्षा १२को नतिजा १० दिनभित्र

NAWALPUR TIMES

कक्षा १२को नतिजा १० दिनभित्र
60000c710c7d0 examination board

राष्ट्रिय परीक्षा बोर्डले आगामी १० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक गरिसक्ने जनाएको छ ।
बोर्डले गत पुसको दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरेको थियो तर अझै उत्तरपुस्तिका रुजुको काम सकिएको छैन ।
शिक्षा पत्रकार सञ्जाल (इजोन)ले विहीबार आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नतिजा प्रकाशन गर्न अझै कम्तीमा एक साता लाग्ने बताउँदै भन्नुभयो, “विद्यालयहरुले हामीले दिएको निर्देशनअनुसार उत्तरपुस्तिका परीक्षण गरेर नपठाएकाले नतिजा सार्वजनिक गर्न ढिला भएको हो । अबको १० दिनभित्र नतिजा सार्वजनिक भइसक्नेछ ।”
उहाँका अनुसार विवरण ‘इन्ट्री’ गर्ने कार्य सकिएको छ । उत्तरपुस्तिका रुजु गर्ने कार्य अझै ६० प्रतिशत बाँकी छ । उहाँले विद्यालयले उत्तरपुस्तिका परीक्षण गरेपछि जथाभावीरुपमा अङ्क विवरण पठाएको र त्यसले गर्दा नतिजा समयमा प्रकाशन गर्न ढिला भइरहेको बताउँदै थप्नुभयो, “विद्यालयहरुले जथाभावीरुपमा मार्क इन्ट्री गरेर पठाएका छन् । भद्रगोल बनाएर पठाएका छन् । केन्द्राध्यक्षलाई हामीले कसरी विवरण पठाउने भनेर तालिम पनि दिएका थियौँ तर उनीहरुमा ‘कमनसेन्स’ पनि देखिएन । मनपर्दी किसिमले उत्तरपुस्तिका पठाएका छन् । हातैले मार्क इन्ट्री गरेर पठाएका छन् ।”
कोभिड–१९ का कारण बोर्डले ४० अङ्कको मात्र लिखित परीक्षा सञ्चालन गरेको थियो । बाँकी अङ्क कक्षा ११ को र आन्तरिक मूल्याङ्कनका आधारमा गणना गरिनेछ । कक्षा १२ मा करिव चार लाख ३१ हजार परीक्षार्थी परीक्षामा सम्मिलित थिए । कोभिडका कारण विद्यार्थीको पायक पर्ने विद्यालयलाई नै परीक्षा केन्द्र बनाइएकाले देशभरि चार हजार १०५ परीक्षा केन्द्र कायम गरिएको थियो ।
विभिन्न विश्वविद्यालयले यसै सातासम्म बीईका लागि आवेदन फाराम भर्न आह्वान गरेका छन् । कक्षा १२ को नतिजा ढिला भएमा विद्यार्थीहरुले बीईका लागि आवेदन भर्न पाउने अवस्था रहँदैन । बोर्डका अध्यक्ष डा. पौडेलले ती विश्वविद्यालयले आवेदन फाराम भर्न पाउने म्याद बढाउनेमा आफूहरु आशावादी रहेको बताउनुभयो ।
अर्काे प्रसङ्गमा उहाँले कक्षा ११ को रजिष्ट्रेसन फाराम र कक्षा १२ को आवेदन फाराम अनलाइन विधिमार्फत छिटै खुला गरिने जानकारी दिनुभयो । उहाँले आगामी चैत मसान्तभित्र कोर्स नसकिने भएकाले चालु शैक्षिक सत्रलाई आगामी जेठ मसान्तसम्म बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष प्रस्ताव लगिएको र सो मन्त्रालयले त्यसलाई मन्त्रिपरिषद्मा पठाएको जानकारी प्राप्त भएको बताउँदै भन्नुभयो, “आगामी जेठ मसान्तसम्ममा कोर्स सकिने थियो । त्यसैले एसईई, कक्षा ११ र १२ को परीक्षा आगामी असारभित्र सक्ने गरी योजना बनाएका छौँ ।”

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology