कंगोमा शान्ति स्थापनार्थ गएका नेपाली सेना आपसमै भिडे, घटनाका सम्बन्धमा सेनाले छानबिन गर्दै

NAWALPUR TIMES

कंगोमा शान्ति स्थापनार्थ गएका नेपाली सेना आपसमै भिडे, घटनाका सम्बन्धमा सेनाले छानबिन गर्दै
1596945190.Sena Sketch Army 1 1

काठमाडौं। द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र कंगोमा शान्ति कायम गर्न गएको नेपाली सेनाका अधिकृतले जवानलाई कुटेपछि सेनाले उक्त घटनाको छानबिन प्रक्रिया अघि बढाएको छ।

 

सैनिक अधिकृतले जवानलाई कुटेको तस्वीर बाहिर आएपछि उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलेले जानकारी दिए।

 

“कंगोमा नेपाली सेनाका अधिकृतले जवानहरुलाई कुटे भन्ने कुरा बाहिर आएको छ। सत्यतथ्य के हो पक्ता लगाउन छानबिन समिति गठन गरिएको छ,” सैनिक प्रवक्ता पौडेलले भने, “घटना हामी बुझ्दै छौं। घटनामा दोषी देखिएकालाई सैनिक ऐन अनुसार हदैसम्मको कारबाही हुन्छ।”

 

पौडेलका अनुसार घटना असोज ८ गते राति भएको हो। घटनाको छानबिनको लागि कंगोमा नै प्रमुख सेनानीको नेतृत्वमा समिति गठन गरिएको छ। समितिले बुझाउने प्रतिवेदनका आधारमा कारबाही अघि बढाईने जनाइएको छ।

 

“होहल्ला गरेको विषयमा वादविवाद बढ्दा घटना भएको हो भन्ने प्रारम्भिक जानकारी आएको छ। त्यहाँ रहेका अधिकृत र जवानबीच वादविवाद तथा अनुशासनको उल्लंघन भएको भन्ने बुझियो। के विषयमा त्यस्तो भयो, त्यसमा को को संलग्न थिए भन्ने जानकारी आएको छैन,” उनले भने।

 

हाल १२ फरक/फरक देशमा रहेका संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपाली सेनाहरू तैनाथ गरिएको छ। अहिले १२ देशका मिसनमा ५ हजार ७८ नेपाली सेना खटिइरहेका छन्, जसमध्ये ८९८ जना कंगोमा रहेका छन्।

 

“शान्ति स्थापना कार्यमा संलग्न नेपाली सेनाका सदस्यहरुमा उच्च स्तरको अनुशासन कायम राख्नको लागि नेपाली सेना प्रतिबद्ध रहेको छ,” उनले जनाए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology