ओली–नेपाल मेरियट वार्ताः आज सहमति जुटेन, वार्ता सकरात्मक रहेको प्रतिक्रिया

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २३ गते २२:०२
ओली–नेपाल मेरियट वार्ताः आज सहमति जुटेन, वार्ता सकरात्मक रहेको प्रतिक्रिया
KP oli and Madhav nepal

काठमाडौं। एमालेको आन्तरिक विवाद समाधानका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौंस्थित होटल मेरियटमा भएको वार्तामा बुधबार सहमति जुटेन। तर वार्ता सकरात्मक रहेको वार्तामा सहभागी नेताहरुले प्रतिक्रिया दिएका छन्।

वार्तापछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपाल निकट नेता उपाध्यक्ष भीम रावलले फेरि वार्ता हुने जानकारी दिए। उनले सकरात्मक छलफल भएको भन्दै फेरि पनि वार्ता हुने जानकारी दिए। उनले जसरी पार्टीलाई एकतावद्ध बनाउन छलफल भइरहेको भन्दै गम्भीररुपमा छलफल भएको जानकारी दिए।

दुई शीर्ष नेताहरुबीच मेरियटमा वार्ता शुरु हुनुअघि कार्यदलमा रहेका नेताहरु उपाध्यक्ष भीम रावल, महासचिब ईश्वर पोखरेल, उपमहासचिब विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेबीच छलफल भएको थियो। त्यसपछि ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको नेता पाण्डेले जानकारी दिए। उनले वार्ता सकरात्मक भन्दै कार्यदलमा फेरि वार्ता हुने जानकारी दिए।

वार्तापछि बाहिरिनेक्रममा ओली पक्षले भने कुनै प्रतिक्रिया दिएन्। वार्तामा सहभागी महासचिब पोखरेल र उपमहासचिब पौडेलसँग प्रतिक्रिया माग्दा पनि उनीहरुले कुनै प्रतिक्रिया दिएनन्।

होटल मेरियटमा ७ बजेपछि शुरु भएको वार्ता सवा ९ बजे सकिएको हो।

वार्ता स्थलबाट नेता नेपाल पहिला बाहिरिएका छन्। उनले पत्रकारहरुले वार्ताबारे राखेको जिज्ञाशामा कुनै जवाफ दिएनन्। नेता नेपालपछि बाहिरिएका प्रधानमन्त्री ओलीले पनि वार्ताबारे केही प्रतिक्रिया दिएनन्।

अध्यक्ष ओली र नेता नेपालबीच यो ५५ दिनपछि भएको एक्लाएक्लै वार्ता हो। यसअघिको वार्तामा कार्यदल बनाउने सहमित जुटेको थियो। तर, कार्यदलको बैठक दुई पटक बस्दा नयाँ सरकार गठन प्रक्रियामा माधव समूहका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भने सरकारले प्रतिनिधिसभा विघटन गरिदियो। त्यसपछि कार्यदल निष्क्रिय बनेको थियो।

सर्वोच्चमा देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको रिटमा माधव समूहका २३ जनाको हस्ताक्षरसमेत छ। ओली पक्षले सो हस्ताक्षर फिर्ता लिन भनिरहेको छ भने मावध समूहले हस्ताक्षर फिर्ता नलिने बताइरहेको छ। सर्वोच्चमा यो रिटमाथिको बहस सकिसकेको छ। यही असार २८ गते सो रिटबारे सर्वोच्चले फैसला गर्दैछ। एमालेमा सर्वोच्चको फैसला आउनु अगावै सहमति जुटाउने प्रयास भइरहेको छ।

प्रकाशित : २०७८ असार २३ गते २२:०२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI