ओलीलाई गगनको प्रश्न– प्रधानमन्त्रीज्यू झलनाथ खनालको खर्च बेहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?

NAWALPUR TIMES

ओलीलाई गगनको प्रश्न– प्रधानमन्त्रीज्यू झलनाथ खनालको खर्च बेहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?
gagan thapa1622120125

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्ने कसैलाई पनि रकम नकाशा गर्न नमिल्ने बताएका छन् ।

भारतको एपोलो अस्पतालमा उपचार गराएका नेकपा एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने निर्णय सार्वजनिक भएपछि पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता गगनले कुनै पनि व्यक्तिलाई उपचारका लागि रकम निकासा गर्नु कानुन विरित हुने बताएका हुन् ।

खनालको उपचार खर्च सुरुमा एमालेले बेहोर्ने बताइए पनि पछि सरकारले तिर्ने समाचार सार्वजनिक भएको थियो ।

“उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गर्ने प्रचलन थियो । यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्यौं । र मन्त्रालयबाट एकजनाको पनि सिफारिस गरेनौँ । तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन,” गगन सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै’ प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन भन्ने संशोधन प्रस्ताव राखेँ ।”

उक्त संशोधन संसदले स्विकार्दै बनेको कानुन २०७५/६/२ गतेदेखि लागु भएको उनको भनाइ छ ।  “कानुनले स्पष्ट भन्छ, जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको एक रुपैयाँ पनि तिर्न मिल्दैन,” गगन लेख्छन्, “प्रधानमन्त्रीज्यू अब भन्नुस्– पूर्व प्रमको खर्च बेहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?”

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology