एसीसी प्रिमिअर कप: नेपाल च्याम्पियन, एसिया कपमा छनोट
NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख १९ गते ११:४९
b519b320 e8ad 11ed 8c83 81119f244f49
गुलशन झाको आक्रामक ब्याटिङको मद्दतले नेपालले एसीसी प्रिमिअर कपको फाइनलमा प्रतिद्वन्द्वी यूएईलाई सात विकेटले पराजित गरेको छ। कीर्तिपुर क्रिकेट मैदानमा यूएईले छोडेको ११८ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर ३ बलमा ३ जना खेलाडी गुमाउँदै पूरा गरेको हो।
यो उपाधिसँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपको लागि छानिएको छ। सँगै नेपालले डेढ महिनाको बीचमा यूएईलाई महत्त्वपूर्ण खेलमा पराजित गरेको हो। नेपालले जितका लागि ११८ रनको लक्ष्य पाएको थियो। त्यो ठूलो लक्ष्य थिएन।
तर वर्षाका कारण खेल डीएलएस मा पनि जानसक्ने भएकोले नेपालले रन र विकेटको हिसाब गरेर सुझबुझ तरिकाले खेल्नुपर्थ्यो। जति धेरै विकेट गुम्यो, नेपालको लक्ष्य त्यति नै बढ्ने हुन्थ्यो। यस्तो बेला नेपालले सुरुवातमा नै लगातार ३ विकेट गुमाएपछि टोली अचानक दबाबमा परेको थियो।
ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा रोहन मुस्तफाबाट एलबीडब्लूको सिकार भए। ८ बल खेलेका उनले १ रन मात्र जोड्न सके। सातौँ ओभरको पहिलो बलमा अर्का ओपनर आसिफ शेख पनि एलबीडब्लूकै धरापमा परे।
यूएईका रोहन मुस्तफाले त्यसबीच शेखसँग विवादमा अल्झिन पुगेका थिए। उनको यो रणनीति सफल भएजस्तो देखिएको थियो।शेखले १० बल खेलेर १ चौकासहित ८ रन मात्र जोड्न सके। त्यसपछि कप्तान रोहित पौडेल पनि आउट भएपछि नेपाल समस्यामा परेको थियो। १ रन मात्र बनाएका पौडेललाई मुस्तफाले नै बोल्ड गरे। यति बेला ८ ओभरमा नेपालले २२ रन मात्र बनाएर खेलिरहेको थियो। त्यसपछि खेल सम्हाल्ने जिम्मा गुलशन झा ले लिए।
स्कोरबोर्डमा छरितो रन जोड्न आवश्यक भएकोले प्रशिक्षक मोन्टी देशाईले भुर्तेल आउट भएपछि नै झा लाई मैदानमा पठाएका थिए। जबकि अन्य बेला भीम सार्की आउने गर्थे। झा र रोहित आउट भएपछि आएका भीम सार्की मिलेर नेपाली इनिङलाई धैर्यपूर्ण तरिकाले अगाडि बढाए। दबाबमा धेरै ‘डट बल’ गइरहेको बेला बायाँ हाते आक्रामक झा ले निरन्तर जसो ४ छक्का ३ चौका प्रहार गरेर टोलीको दबाब घटाउने काम गरेका थिए।झा ले आक्रामक रणनीति अपनाउँदा अर्को इन्डमा सार्कीले विकेट बचाएर खेले।उनले नेपालका लागि अर्धशत जोडे। स्मरणीय कुरा के छ भने विश्वकप लिग-२ को अन्तिम खेलमा पनि झा ले नै एउटा ओभरमा आक्रामक खेलेर २० रन जोडेपछि डीएलएसमा यूएई पराजित हुन पुगेको थियो।
प्रकाशित : २०८० वैशाख १९ गते ११:४९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by:
SAROJ BHATTARAI
Facebook Comment