एसएलआर हतियार देखाएर २४ घर र गुम्बामा लुटपाट

NAWALPUR TIMES

एसएलआर हतियार देखाएर २४ घर र गुम्बामा लुटपाट
mugu lutpat 1720412217

कावासोती । पुरुषहरु यार्सागुम्बा टिप्न गएको मौका पारेर मुगुमा लुटपाट गर्ने समूह हतियारसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मुगुको टोलीले यही असार २१ गते जुम्लाबाट उनीहरुलाई पक्राउ गरेको हो। जुम्लाको गुठीचौर गाउँपालिका–३ का गणेश भण्डारी, पूर्णप्रसाद भण्डारी र वडा नम्बर ४ का कमल थापालाई पक्राउ गरिएको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। मुगुको कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयलाई हतियार देखाएर उनीहरुले लुटपाट गरेका थिए। उनीहरुले गाउँबाट लुटेका सुनका गहना जुम्लामा बिक्री गरिसकेको अवस्थामा बरामद गरिएको प्रहरीले जानकाएको छ।

घटनामा अरु पाँच जनाको पनि प्रत्यक्ष संलग्नता रहेको खुलेको छ। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।उनीहरुबाट एक थान एसएलआर, एसएलआरको दुईवटा म्याग्जिन, २५ राउण्ड गोली र एक थान कटुवा पेस्तोल बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। ती हतियारलाई उनीहरुले जुम्लको पातारासी गाउँपालिका–३ स्थित चुकेकाँध भन्ने ठाउँमा ओढारमा लुकाएका थिए। एसएलआरको पार्टपुर्जा अलग गरेर ओढारमा लुकाएको अवस्थामा बरामद गरिएको थापाले जानकारी दिए।

उनीहरुसँग अत्याधुनिक हतियार एसएलआर कसरी आयो भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।गत जेठ १२ गते राति ८ बजेतिर उनीहरुले मुगुको डोल्फु गाउँमा पुगेर २४ घर र एक सार्वजनिक गुम्बामा लुटपाट गरेका थिए। मास्क लगाएर गाउँ छिरेका उनीहरले हतियार पड्काएर गाउँलेलाई तर्साएका थिए। उनीहरुले स्थानीयलाई कुटपिट समेत गरेका थिए।घटना प्रकृतिका अधारमा उनीहरुमाथि डाँकाचोरी, हातहतियार र संगठित अपराधतर्फ अनुसन्धान अघि बढाईएको डिएसपी थापाले बताए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology