एसइईमा ९० प्रतिशत अंक ल्याउने प्रशस्तै

NAWALPUR TIMES

एसइईमा ९० प्रतिशत अंक ल्याउने प्रशस्तै
exam 5424 5

काठमाडौँ : कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै रहेको पाइएको छ।

यस वर्ष काठमाडौंबाट १ हजार ७ विद्यालयका ३७ हजार ३ सय विद्यार्थीले एसइईमा सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंले जनाएको छ। यो जिल्लामा ९० प्रतिशत ल्याउने विद्यार्थीहरू थुप्रै छन्। एकाइ प्रमुख नन्दलाल पौडेलले विगतमा भन्दा हाल उत्कृष्ट अंक ल्याउनेको संख्या बढेको बताए। विगतमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्दा केहीले मात्र ८०–९० प्रतिशत अंक ल्याउँथे भने हाल यो संख्या प्रशस्त रहेको उनको भनाइ छ।

‘काठमाडौंमा राम्रा स्कुलहरू पनि प्रशस्तै छन्,’ एकाइ प्रमुख पौडेलले नागरिकसँग भने, ‘प्राक्टिकलमा स्कुलहरूले २५ नम्बर पुरै दिएका छन् । सैद्धान्तिकमा पनि राम्रै अंक दिएका छन्।’ उनले थपे, ‘३७ हजार ३ सय विद्यार्थीमध्ये प्रशस्तैले यसपटक ९० प्रतिशत अंक ल्याएको देखियो।

नतिजा प्रकाशित नभएको र गोपनीयताका कारण ठ्याक्कै संख्या अहिले सार्वजनिक गर्न मिल्दैन।’उनले सरकारी तथा निजी दुवैखाले विद्यालयले राम्रो देखाउन पनि विद्यार्थीलाई राम्रै अंक दिएको बुझिएको जनाए। काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको तथ्यांक इन्ट्री गर्ने काम अन्तिम चरणमा पु¥याएको र यो साता राष्ट्रिय परीक्षा बोर्डमा विद्यार्थीको अंक तालिका बुझाइने पौडेलले बताए।

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माध्यमिक विद्यालयका विद्यार्थीले पनि उत्कृष्ट अंक प्राप्त गरेको जनाइएको छ। अनलाइनबाट परीक्षा लिने पद्धतिले विद्यार्थीको अंक राम्रो आएको प्रधानाध्यापक हेरम्बराज कँडेलले जनाए। यो स्कुलबाट यसपटक २ सय ६२ विद्यार्थीले एसइई परीक्षा दिएका छन्।

‘अनलाइन परीक्षा लिँदा विद्यार्थीले उत्कृष्ट अंक प्राप्त गरेका छन्,’ कँडेलले नागरिकसँग भने, ‘हाम्रो स्कुलमा सबै विद्यार्थीले परीक्षामा उत्कृष्टनै गरेका छन्।’ उनले थपे,‘अनलाइन कक्षामा विद्यार्थी र शिक्षक दुवैले नियममित कक्षा लिएर धेरै मिहिनेत गर्नुभएको छ। नतिजा पनि राम्रो छ।’ गणितबाहेक सबै विषयमा प्राक्टिल भएकाले पनि विद्यार्थीको नतिजा राम्रो भएको उनको भनाइ छ।

राष्ट्रिय परीक्षा बोर्डका एसइई परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले साउनको अन्तिम साता एसइई परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीमा बोर्ड जुटेको बताए। उनका अनुसार हालसम्म ३० जिल्लाबाट विद्यार्थीको अंकतालिका पनिकालाई प्राप्त भइसकेको छ भने अझै ४७ जिल्लाबाट आउन बाँकी छ। विद्यालयहरूले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा विद्यार्थीको अंक तालिका पठाउने हो। एकाइले प्रमाणित गरेर हार्डकपी केन्द्रमा पठाउने व्यवस्था छ।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार यसपटक कुल ५ लाख १७ हजार विद्यार्थीले एसइई परीक्षाका लागि रजिस्ट्रेसन फाराम भरेका छन्। ‘तर जिल्लाहरूका शिक्षा विकास तथा समन्वय एकाइहरूले अनलाइन रजिस्ट्रेसन गरेअनुसार हालसम्म ४ लाख ६० हजार विद्यार्थी मात्र इन्ट्री भएको देखिन्छ,’ नियन्त्रक अधिकारीले नागरिकसँग भने,‘पनिकाले एकाइले प्रमाणित गरेर पठाएको विद्यार्थीको अंक तालिकालाई हाल इन्ट्री गर्ने काम गरिरहेको छ।’ उनले थपे,‘केन्द्रले तथ्यांक इन्ट्री गर्ने, टेबुलेसन गर्ने, रुजु गर्ने र नतिजा प्रकाशन गर्ने काम गर्नेछ। ८० भन्दा बढी अंक दिने विद्यालयहरूले कारण खुलाउनुपर्ने पनिकाको निर्देशन छ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology