कोलकाता । एकदिवसीय विश्वकपको उपाधि दाबेदार दुई टोली भारत र दक्षिण अफ्रिका आज भिड्दैछन् । खेल कोलकाताको इडेन गार्डेन मैदानमा दिउँसो २:१५ बजे सुरु हुनेछ । दुवै टोली लिग चरणका ३६ खेल सकिएपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा छन ।
दुवै टोलीले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । भारतको १४ अंक छ भने दक्षिण अफ्रिकाको १२ अंक छ । यस्तो अवस्थामा आजको खेल जित्ने टोली शीर्ष स्थानमा रहनेछ । लिग चरण पनि यही स्थानमा समाप्त गर्न सक्नेछ ।
सन् १९९२ को एकदिवसीय विश्वकपमा भारत र दक्षिण अफ्रिकाको टोली पहिलो पटक आमनेसामने भएका थिए, खेलमा भारत पराजित भएको थियो । त्यसपछि सन् २०११ सम्म विश्वकपमा दुई टोली तीन पटक आमनेसामने भए । तीनै खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो । सन् २०१५ र २०१९ को विश्वकपका दुवै खेलमा भने भारतले जितेको थियो। आजको खेल जिते भारतले प्रतियोगितामा दक्षिण अफ्रिकामाथि जितको ह्याट्रिक गर्नेछ ।
हेड टू हेड
दुई टोलीबिच एकदिवसीयमा ९० खेल खेलिएका छन् । भारतले ३७ र दक्षिण अफ्रिकाले ५० खेलमा जीत हात पारेको छ । तीन खेल पनि नतिजाविहीन भएका थिए । दुवैबिच पछिल्लो पटक गत वर्ष अक्टोबरमा भारतमा भिडन्त भएको थियो । भारतले ३ खेलको शृङ्खला २–१ ले जितेको छ ।
२०११ को सम्झना
सन् २०११ को विश्वकपमा च्याम्पियन बनेको भारतीय टोलीले समूह चरणमा एक खेल मात्रै हारेको थियो । त्यतिबेला दक्षिण अफ्रिकाले नै भारतलाई हराएको थियो। नागपुरमा भएको समूह चरणको खेलमा दक्षिण अफ्रिका ३ विकेटले विजयी भएको थियो । त्यो खेलमा सचिन तेन्दुलकरले आफ्नो ४८ औँ एकदिवसीय शतक बनाए । विश्वकप करियरमा उनको यो छैटौँ शतक पनि थियो।
भारतलाई झट्का
यो रोमाञ्चक खेलअघि भारतलाई ठुलो झट्का लागेको छ । भारतीय टोलीका स्टार अलराउन्डर तथा उपकप्तान हार्दिक पाण्ड्या चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । अक्टोबर १९ मा बंगलादेशविरुद्ध पुणेमा भएको खेलमा खुट्टामा चोट लागेका कारण हार्दिक घाइते भएका थिए । त्यसपछि उनले कुनै खेल खेलेनन् । उनको स्थानमा फास्ट बलर प्रसिद्ध कृष्णालाई टिममा समावेश गरिएको छ ।
भारतीय खेलाडीको उत्कृष्ट फर्म जारी छ
आयोजक भारत प्रतियोगिताभर उत्कृष्ट लयमा रहेको छ । टिमका ब्याट्सम्यान होस् वा बलर सबैले आफ्नो शतप्रतिशत मैदानमा दिएका छन् ।
प्रतियोगिताभर टिमको फिल्डिङ उत्कृष्ट रहेको छ । विराट कोहलीले ७ खेलमा टिमका लागि सर्वाधिक ४४२ रन बनाएका छन् । जबकि तीव्र गतिका बलर जसप्रित बुमराह १५ विकेट लिएर टिमका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
डी ककको नाममा चार शतक
दक्षिण अफ्रिकी टोली पनि उत्कृष्ट लयमा देखियो । टोलीको ७ मध्ये एक खेलमा मात्र नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो । टोलीका लागि विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी ककले सर्वाधिक ५ सय ४५ रन बनाएका छन् । उनी प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।
उनको नाममा ७ खेलमा ४ शतक पनि छ । त्यस्तै मार्को जान्सन १६ विकेट लिएर टोलीका शीर्ष बलर हुन् ।
खेलसँग सम्बन्धित केही तथ्य
-४८ शतक बनाएका विराट कोहली सचिन तेन्दुलकरको एकदिवसीयमा सर्वाधिक शतकको कीर्तिमान बराबरी गर्न एक शतक टाढा छन् । आज शतक पूरा गरेर कोहलीले आफ्नो ३५ औँ जन्मदिन विशेष बनाउन सक्छन्।
-दक्षिण अफ्रिकाका केशव महाराजले २ विकेट लिएर आफ्नो एकदिवसीय करियरमा ५० विकेट पूरा गर्नेछन् ।
-लुंगी एनगिडीले श्रेयस अय्यरलाई एकदिवसीय क्रिकेटमा ३० बलमा ४ पटक आउट गरेका छन् ।
पिच रिपोर्ट
कोलकाताको इडेन गार्डेन स्टेडियमको विकेट ब्याटिङका लागि सधैँ सहयोगी रहँदै आएको छ । यस विश्वकपमा हालसम्म यहाँ २ खेल खेलिएका छन् । यहाँ कुल ३३ एकदिवसीय खेलिएका छन् । पहिले ब्याटिङ गर्ने टोलीले १९ खेल जितेको छ भने पछि ब्याटिङ गर्ने टोलीले १३ खेल जितेको छ । एक खेल भने नतिजा आउन सकेन ।
यस मैदानमा उच्चतम स्कोर ४ सय ४ रन हो, जुन भारतले सन् २०१४ मा श्रीलंकाविरुद्ध बनाएको थियो। सबैभन्दा कम स्कोर १२३ रन हो, जुन वेस्ट इन्डिजले सन् १९९३ मा भारत विरुद्ध बनाएको थियो।
Facebook Comment