एकतर्फी रुपमा सुरु गरिएको नारायणी किनारको काम रोक्न गैंडाकोट बासीको २४ घण्टे अल्टिमेटम

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत २२ गते १८:५२
एकतर्फी रुपमा सुरु गरिएको नारायणी  किनारको काम रोक्न गैंडाकोट बासीको २४ घण्टे अल्टिमेटम
Screenshot 20230405 184927 Chrome

कावासोती । गैँडाकोटका स्थानीयले नारायणी नदी किनारको प्रदर्शनी मैदानमा हुँदै गरेको सीबीच निर्माणप्रति विरोध जनाएको छ। चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट उत्तरपट्टि चितवन तर्फको भागमा एकतर्फी संरचना निर्माण हुँदा गैँडाकोटतर्फको बस्ती असुरक्षित हुने भन्दै गैँडाकोट बचाऔँ अभियान संघर्ष समितिले उक्त कार्य तत्काल रोक्न माग गरेको छ।

गैँडाकोट तर्फको बस्तीलाई जोखिममा राखेर एकतर्फी संरचना निर्माण गर्नु अवैज्ञानिक भएको भन्दै समितिले बुधबार भरतपुर स्थित नारायणी नदी व्यवस्थापन आयोजनाको कार्यालय पुगेर ध्यानाकर्षण पत्र समेत बुझाएको छ। ध्यानाकर्षण पत्रमा नदी किनारमा दुईतर्फी सहमति गराएर मात्रै संरचना निर्माण गर्नुपर्ने भए पनि एकतर्फी निर्णय गरेर अर्को तर्फको बस्ती जोखिममा पार्ने काम गरिरहेको जनाएको छ।

‘नदी किनारको चितवनतर्फ भइरहेको निर्माण कार्य तत्काल रोक्न हामीले २४ घण्टे अल्टिेमेटम दिएका छौँ,’ समितिका संयोजक गोकुल सापकोटाले भने, ‘हाम्रो मागअनुसार उक्त कार्य तत्काल नरोकिए हामी संघर्षका अन्य कार्यक्रम अगाडि बढाउन बाध्य हुनेछौँ।’

उनका अनुसार वर्षातको समयमा बाढी आउँदा नदीको एकातर्फको किनारमा मात्रै संरचना निर्माण गर्दा अर्को किनारतर्फ पर्ने गैँडाकोटको वडा नं.२, ५, ६, ७ र ९ उच्च जोखिममा पर्ने देखिन्छ। त्यसैले गैँडाकोटवासीले नदीको अवस्था जस्तो छ, त्यस्तै छाडिदिन माग गरिएको उनको भनाइ छ।

नारायणी नदी व्यवस्थापन आयोजना कार्यालयले भने नदी व्यवस्थापनको लागि नभई नदीको वहाव परिवर्तन नहुने गरी व्यवस्थित पार्क निर्माण गरेको बताएको छ। ‘वर्षातको समयमा बाढीले नभत्काओस् भनेर बलियो बनाउन मात्रै खोजिएको हो,’ कार्यालयका सिडिई शेखरनाथ न्यौपानेले भने, ‘यसबाट अर्कोतर्फ कुनै हानी हुँदैन।’ नदी किनारमा संघीय सरकारको करिब ९७ करोडको लागतमा व्यवस्थित पार्क निर्माण भइरहेको छ।

प्रकाशित : २०७९ चैत २२ गते १८:५२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI