आफनै लयमा फर्कियो सामुदायिक प्राकृतिक चिकित्सालय

NAWALPUR TIMES

आफनै लयमा फर्कियो सामुदायिक प्राकृतिक चिकित्सालय
1613215631108

सन्जय भट्टराई/कावासोती । देशमा कोरोना महामारी सुरु भए पछी क्वारेन्टाइन र अस्थायी कोभिड अस्पतालको रुपमा सेवा प्रदान गर्दै आईरहेको पुर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय आफ्नै लयमा फर्किएको छ । प्राकृतिक चिकित्सा पद्धति अनुसार बिरामीको उपचार गर्नेकाम फागुन १ गते शनिबार देखि सुरु भएको अस्पतालले जनाएको छ।

प्राकृतिक उपचार पद्धतिबाट विभिन्न रोगका बिरामीहरुको उपचार गर्दै आईरहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई देशमा कोरोना महामारी फैलिए सँगै २०७६ चैत्र ११ गते बाट क्वारेन्टाइन र २०७७ जेठ २४ गते देखि अस्थायी कोरोना अस्पताल बनाएर कोरोना संक्रमितको उपचार सुरु गरिएको थियो ।

देशकै उत्कृष्ट कोरोना अस्पतालको रुपमा ख्याति कमाएको यस अस्पतालबाट पुर्वी नवलपरासी सहित देशभरका ७ सय ८७ जना कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्किएका अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए । प्राकृतिक चिकित्सा पद्धतिबाट कोरोना संक्रमितको उपचार गरेको यस अस्पतालमा एक जना पनि संक्रमितले ज्यान गुमाउन नपरेको सापकोटाले बताए । सेवा सुरु गरिएको पहिलो दिन १२ जना बिरामीहरु उपचारको लागि अस्पतालमा आएका सापकोटाले बताए ।

स्थानीयले धनधान्यान्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको थियो। दश बिघा क्षेत्रफलमा फैलिएको यस चिकित्सालयमा आवासीय रुपमा ३ सय बिरामीलाई उपचार गर्ने सकिने भए पनि विभिन्न प्राविधिक कारणले १ सय २० जनालाई नियमित सेवा दिन सकिने अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले बताए । पौडेलका अनुसार अस्पतालमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस अक्युपञ्चर, फिजियोथेरापी योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ।

विशेष गरी औषधीय उपचारबाट निको हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा बिरामीको उपचार सेवा लिन आउनेहरुको माग बढे सँगै आफुहरु आफ्नो पुरानै लयमा फर्किएको डाक्टर पौडेलले बताए ।

अस्पतालमा प्राकृतिक चिकित्सा र योगमा अनुसन्धानसमेत गर्ने लक्ष्य सहित प्राकृतिक चिकित्सा शिक्षण अस्पताल स्थापना गरी प्राज्ञिक जनशक्ति उत्पादन गर्ने योजना रहेको पौडेलले बताए । प्राकृतिक चिकित्सा शिक्षण अस्पतालको प्रक्रिया अगाडि बढाई सकिएको र आगामी २ वर्ष भित्र शिक्षण अस्पताल पनि सन्चालन हुने पौडेलले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology