आज ४१औं बीपी स्मृति दिवस

NAWALPUR TIMES

आज ४१औं बीपी स्मृति दिवस
bp koirala

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री प्रजातान्त्रीक समाजवादका प्रणेता विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई नेपाली काँग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।

पिता कृष्णप्रसाद कोइराला र माता दिव्यकुमारीका माइला छोरा बीपी राणा शासनको अन्त्य गर्ने सशस्त्र क्रान्तिदेखि २०३६ सालको जनमत सङ्ग्रहसम्म चर्चाको शिखरमै रहे । कोइरालाले राणा शासनकाविरुद्ध नेपाली जनताको अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने कार्यको अगुवाइ गरे भने २००७ सालको क्रान्ति निर्माण गर्नका लागि महत्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गरे ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुऱ्याएका छन् । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्रदाइ, एवम् बाबु, आमा र छोरा गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह श्वेत भैरवी र दोषी चस्मा, हरिप्रसाद शर्माको सम्पादनमा विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता, प्रकाशित छ ।

जीवनको लामो समयसम्म काङ्ग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र जग्गा जोत्नेको हुनुपर्छ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाए ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महीनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology