आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १४ गते ९:१३
आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै
tulasi J1p0GFqAst

कावासोती ।  आज हरिशयनी एकादशी  । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारिन्छ ।

एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा राखिएको दलको बिरुवा आज तुलसीको मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य डा देवमणि भट्टराई बताउनुहुन्छ ।

भगवान विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ । एक वर्षमा २४ वटा एकादशी पर्छ । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६  वटा एकादशी परेको भट्टराईले बताउनुभयो ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि नवलपुरको शिख्रौली,  केउरेनी, पिठौली, अमलटारी लगाएतका नारायणी नदि किनारमा गंगा स्नान गर्ने र  देशभरका नारायण एवं विष्णु मन्दिरमा पुजापाठ गर्ने भक्तजनको चाप छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ ।

प्रकाशित : २०८० असार १४ गते ९:१३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI