आज विश्व टेलिभिजन दिवस मनाइँदै

NAWALPUR TIMES

आज विश्व टेलिभिजन दिवस मनाइँदै
4 World Television Day 380x214 1

काठमाडाैं। संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदै छ। यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ।

 

संयुक्त राष्ट्रसङ्‍घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो।

 

आजभन्दा ९५ वर्ष अगाडि आविष्कार भएको टेलिभिजन आमसञ्चार माध्यम अहिले विकास हुँदै अनलाइन टेलिभिजनसम्म आइपुगेको छ। टेलिभिजन प्रविधिको सबैभन्दा कान्छो पुस्ताको रुपमा रहेको अनलाइन टेलिभिजनको विस्तार र आकर्षण दिन प्रतिदिन बढिरहे पनि यसको व्यवस्थापन तथा संस्थागत विकासको आवश्यकता पनि उत्तिकै रहेको अनलाइन टिभी पत्रकार सङ्‍घले जनाएको छ।

 

सङ्‍घका अध्यक्ष जीवन भण्डारी र महासचिव राजु सुवेदीले दिवसको अवसरमा वक्तव्य जारी गर्दै अनलाइन टेलिभिजनको पहुँचलाई विस्तार गर्दै यसको विषयवस्तु तथा प्रस्तुतिको गुणस्तर वृद्धि गर्न सबैले आ-आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुपर्ने बेला भएको उल्लेख गरेका छन्। सबै अनलाइन टिभीकर्मीलाई सङ्‍गठित हुन र एक अर्कालाई सहयोग, सीप र ज्ञान आदानप्रदान गर्न पनि उनले सबैलाई आह्वान गरेका छन्।

 

अनलाइन टेलिभिजनलाई व्यवस्थित, विश्वसनीय र उपयोगी बनाउन सबै टेलिभिजनकर्मी, विज्ञ र सरोकारवाला निकायका बीचमा सहकार्य गर्दै केही प्रयास भइरहेको सङ्‍घले जानकारी दिएको छ।

 

नेपालमा पहिलो टेलिभिजनको रुपमा वि.सं. २०४१ माघ १७ गते नेपाल टेलिभिजनको स्थापना भएको हो भने हाल सयभन्दा बढी टेलिभिजन सञ्चालनमा रहेका छन्। त्यसैगरी अनलाइन टेलिभिजनको सङ्ख्या पनि बढीरहे पनि यसको कुनै आधिकारिक तथ्याङ्‍क उपलब्ध छैन। रासस

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology