आज राति पृथ्वी र मंगल ग्रह आमनेसामने, नांगाे आँखाले सतह हेर्न मिल्ने

NAWALPUR TIMES

आज राति पृथ्वी र मंगल ग्रह आमनेसामने, नांगाे आँखाले सतह हेर्न मिल्ने
images 2 1

काठमाडौँ — यो वर्ष मंगल ग्रहको अनुसन्धानका लागि अमेरिका, यूएई र चीनले आफ्ना यानहरु प्रक्षेपण गरे । जुलाई १९ मा संयुक्त अरब इमिरेट्स (यूएई)को ‘होप’, जुलाई २३ मा चीनको तियानवेन–१ र जुलाई ३० मा नासाको ‘पर्सिभरेन्स रोभर’ मंगल ग्रह मिसनका लागि प्रक्षेपण गरिए ।

सौर्य मण्डल परिवारको चौथो ग्रह मंगल हरेक दुई वर्षमा पृथ्वी नजिकै आइपुग्छ । मंगल र पृथ्वीको औसत दुरी २ सय २५ मिलियन किलोमिटर हो तर यी दुई ग्रहबीचको दूरी हरेक दुई वर्षमा ५४.६ मिलियन किलोमिटरसम्म नजिक हुन्छ । यही मौका छोपेर मंगल ग्रह मिसनका लागि यानहरु प्रक्षेपण हुँदै आएका छन् ।

मंगल र पृथ्वीले अण्डाकारमा सूर्यको परिक्रमा गर्ने भएकाले यी दुईबीचको दूरी फरक भइरहन्छ । दूरीलाई नै आधारमा मानेर मंगल मिसनको टुंगो लगाइन्छ । दूरी कम हुँदा कम इन्धन प्रयोग हुने र ग्रह पनि ठूलो अनि चम्किलो देखिने भएकाले यो समय छनोट गरिने त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका प्रमुख एवं खगोलशास्त्री प्रा.डा विनिल अर्याल बताउँछन् । यस वर्ष रुसको पनि मंगल मिसन थियो तर प्राविधिक कारणले प्रक्षेपण हुन सकेन । अब उसले सन् २०२२ मा मात्रै प्रक्षेपण गर्नेछ ।

सन् २००३ मा मंगल र पृथ्वीबीचको दूरी ५५.७६ मिलियन किलोमिटर थियो । उक्त दूरी ६० हजार वर्षपछिको सबैभन्दा नजिक हो । सोही दूरी सन् २२८७ को अगस्ट २८ मा हुने अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ । सन् २०२० मा मंगल र पृथ्वी अक्टोबर ६ मा सबैभन्दा नजिक देखिए । यी दुईबीचको दूरी ६२.०७ मिलियन किलोमिटर थियो । यो दूरी अब सन् २०३५ मा मात्रै हुने नासाले जनाएको छ ।

मंगलबार (अक्टोबर १३)मा पृथ्वी र मंगल ग्रह आमनेसामाने देखिदैछन् । यस्तो अवस्थामा मंगल ग्रह धेरै नै चम्किलो देखिन्छ । अब सन् २०२२ को डिसेम्बेर ८ मा मात्रै यी ग्रहहरु आमने सामने हुनेछन् ।                     मंगल ग्रहको एक वर्ष भनेको पृथ्वीको ६८७ दिन हो । सूर्यलाई परिक्रमा गर्ने क्रममा हरेक २६ महिनामा यिनीहरुबीचको दूरी कम हुँदा आमनेसामने हुने अर्यालले बताए । मंगल ग्रहको सतह, वायुमण्डल, पहाड तथा यसको भू–वनावटको कारणले धेरै नै प्रकाश परावर्तन गर्ने भएकाले यो चम्किलो देखिन्छ । पृथ्वी नजिक आउँदा यसलाई नांगो आँखाले नै हेर्न सकिने अर्यालले बताए ।

पछिल्लो समय टेलिस्कोपबाट चन्द्रमा तथा ताराहरु हेर्न क्रम बढ्दो छ । यस्तो अवस्थामा ग्रहलाई नांगो आँखाले हेर्दा यसको महत्व बेग्लै हुने प्राध्यापक अर्यालको भनाइ छ । ‘बालबालिकाहरु अन्तरिक्षसम्बन्धी जानकारीका लागि धेरै नै इच्छुक हुन्छन् । मंगल ग्रहबारे उनीहरुको झन् चासो छ,’ प्राध्यापक अर्यालले भने, ‘आज मंगल ग्रह धेरै चम्किलो देखिने भएकाले उनीहरुलाई नांगो आँखाले हेर्न प्रेरित गराउन सकिन्छ ।’

पृथ्वी र मंगल ग्रह आमनेसामने हुँदा सर्वसाधरण तथा अन्तरिक्ष कार्यक्रमहरु नभएको मुलुकलाई खासै महत्व राख्दैन । मंगल मिसन र अध्ययन तथा अनुसन्धान गर्नेहरुलाई भने यसले ठूलो महत्व राख्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराई बताउँछन् । ‘आज राति आकाशमा सबैभन्दा धेरै चम्किलो देखिने वस्तु नै मंगल ग्रह हो,’ उनले भने, ‘जसरी पूर्णिमाको बेला सूर्य अस्ताउने बित्तिकै चन्द्रमा देखिन्छ त्यसरी नै अपोजिसन (आमनेसामने) हुँदा मंगल ग्रह पनि त्यसरी नै चम्किलो देखिन्छ । ’

मंगलबार राति ११ बजेर २० मिनेटमा मंगल ग्रह अधिकतम् चम्किलो देखिने प्राध्यापक अर्यालले बताए । टेलिस्कोपबाट अरु बेला पनि देखिने भएकाले उनले सकेसम्म २/३ मिनेटसम्म नांगो आँखाले नै यो ग्रहलाई हेर्न सुझाएका छन् । नांगो आँखाले नै मंगल ग्रहको रंग, यसका पहाड तथा वायुमण्डलहरु देख्न सकिने उनले बताए ।

‘सकेसम्म आफैं समय दिएर यसलाई हेर्न सकिन्छ,’ प्राध्यापक अर्यालले कन्तिपुरसित भने, ‘दुई वर्षअघि र अहिले यसलाई हेर्दा के–के देखियो, के परिवर्तन देखियो भन्ने नांगो आँखाले हेर्दा थाहा पाइने तथा अनुभव लिन सकिन्छ ।’

यस्तो छ मंगल ग्रह:

सौर्य मण्डलको चौथो ग्रह मंगललाई रातो ग्रह पनि भनिन्छ । यहाँ फलाम धेरै पाइन्छन् । अक्सिडाइज भएर खिया बन्दा यसको माटो र वायुमण्डल दुवै रातो जस्तो देखिएको वैज्ञानिकहरु बताउँछन् । त्यही भएर यसलाई रातो ग्रह भनिएको अध्यक्ष भट्टराईले बताए । मंगल ग्रह पृथ्वीभन्दा ५३ प्रतिशतले सानो छ ।

फोबस र पोइमोस नाम गरेका दुई वटा चन्द्रमा रहेको मंगल ग्रहको वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा धेरै छ । पृथ्वीमा सय केजी तौल भएको वस्तु मंगल ग्रहमा करिब ४० केजी हुन्छ । यसको कारण भनेको मंगल र पृथ्वीबीचको गुरुत्व बलको फरक रहेको भट्टराईले सुनाए । मंगल ग्रहको वायुमण्डल अर्बौं वर्षअघि बाक्लो रहेको नासाले बताउँदै आएको छ ।

मंगल ग्रह हाम्रो सौर्य मण्डलको सबैभन्दा धेरै अनुसन्धान भइरहेको ग्रह पनि हो । हाल नासाको मात्रै ३ वटा अन्तरिक्ष यानहरु यसको कक्षमा छन् भने ल्यान्डर र रोभर सतहमा अध्ययन गरिरहेका छन् । भारत र युरोपियन स्पेस एजेन्सीको यानहरु पनि मंगल ग्रहको कक्षमा रहेर यस सम्बन्धी अनुसन्धान गरिरहेका छन् । हाल मंगल ग्रहमा जीवनको सम्भाव्यताबारे अनुसन्धानहरु भइरहेका छन् ।

नासाले यस वर्ष प्रक्षेपण गरेको पर्सिभरेन्स रोभर २०२१ को फेब्रुअरी १८ मा मंगल ग्रहमा अवतरण हुँदैछ । यो रोभरले मंगल ग्रहको प्राचीन ईतिहासको अनुसन्धान मात्रै नभएर मानव बस्न सक्ने सम्भाव्यताको समेत अध्ययन गर्ने बताइएको छ । नासाको यो मिसनमा ईन्जयुुुुुु निटी नामको हेलिकप्टर   मंगल ग्रहको सतहमा उडाइदैछ । यसले पनि त्यहाँको वातावरण तथा सतहको अध्ययन गर्ने नासाले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology