आज नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै

NAWALPUR TIMES

आज नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
Goddess Brahmacharin

आज नवरात्रको दोस्रो दिन नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गर्ने गरिन्छ । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् ।  परब्रह्म परमात्मासँग साक्षात् गराउने ब्रह्मचारिणी देवी तीन नेत्रले युक्त हुनुहुन्छ ।

ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा उल्लेख छ ।

आज विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन पनि छ । नवरात्रका अवसरमा यसै गरी महाकाली, महालक्ष्मी र  महासरस्वतीको पूजा आराधना गरिन्छ। नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको अाराधना गर्ने परम्परा छ।

काठमाडौंको गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, ललितपुरको बंगलामुखी काभ्रेको पलाञ्चोक भगवती, बाँकेको वागेश्वरी, गोरखाको मनकामना लगायत शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ।

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology