आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द

NAWALPUR TIMES

आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द
hospital 5965125 835x547 m 20210207123938
कावासोती । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्ने भएको छ। संघले हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र आवश्यक कारवाही गर्न अल्टिमेटम दिँदा पनि कारबाही नगरेको भन्दै विरोधमा आज आकस्मिकबाहेकका सेवा बन्द गरेको हो। स्वास्थ्य संस्था बन्द गर्दा सेवाग्राहीमारमा पर्ने भएका छन्।

‘नेपाल चिकित्सक संघबाट भाद्र २७ गते ७२ घण्टाको अल्टिमेटम दिई दोषीहरूलाई कानूनी कारवाही गर्न माग गरिएको थियो । सो घटनाका सम्बन्धमा नेपाल सरकारले सम्पूर्ण दोषीहरूलाई कानूनी दायरामा नल्याएको हुनाले नेपाल चिकित्सक संघ बाध्यताबस भाद्र ३१ गतेदेखि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य भएको जानकारी गराइन्छ’, संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गरिने उल्लेख छ । संघले जारी गरेको विज्ञप्ति  भनिएको छ,‘बाध्यात्मक परिस्थितिमा घोषणा गरिएका आन्दोलनलाई पूर्ण रूपमा सफल तुल्याई संघका सम्पूर्ण मागहरूको कार्यान्वयन गराउनका लागि दबाब स्वरूप देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल तथा मेडिकल कलेजहरू, नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरू, सम्पूर्ण विशेषज्ञ समाजहरूलाई यसै विज्ञप्ति मार्फत यथोचित कार्यान्वयन गर्न गराउन सूचित गरिन्छ ।’

उनीहरुले सांघातिक घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अबिलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने र देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउनु पर्ने माग गरेका छन्।

भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो। डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’गरिएको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology