आज तनहुँमा पुल उदघाटन हुन्छ, अन्यत्र प्रदर्शन : काङ्ग्रेस प्रवक्ता शर्मा

NAWALPUR TIMES

आज तनहुँमा पुल उदघाटन हुन्छ, अन्यत्र प्रदर्शन : काङ्ग्रेस प्रवक्ता शर्मा
FB IMG 16069609830020992

नेपाली कांग्रेसले आज बिहीबार बिहान ११ बजेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा पुल उद्घाटन गर्ने बताएको छ।

बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले तीन घण्टा नियन्त्रणमा राखेर छाडेको थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपभोक्ता समितिले सर्वसम्मत निर्णय गरी उद्घाटन गर्न वरिष्ठ नेता पौडेललाई निम्ता दिइएकोले आज पुल उद्घाटन गरिने जानकारी दिए।

गृह जिल्ला तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बिहीबार ११ बजेपछि उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए।

ढिलोचाँडो आउँदैछ मेलम्ची, प्रधानमन्त्रीजीले उद्घाटन गर्नुहोला। तर त्यो कांग्रेसकै पालामा शिलान्यास भएको हो,’ प्रवक्ता शर्माले भने, ‘कांग्रेसकै पालामा शिलान्यास र निर्माण भएको पुल हो तनहुँको।’

कयौं परियोजना कांग्रेसका पालामा सुरू भएको उल्लेख गर्दै शर्माले प्रश्न पुलको नभएर सत्तारूढ दल नेकपाको प्रवृत्तिको रहेको बताए।

‘प्रश्न एउटा घटनाको होइन, सरकारको चरित्रको हो। यो घटनालाई कांग्रेसले गम्भीर रूपमा लिएको छ,’ उनले भने, ‘सरकार, बालुवाटारले चेतेन भने संसददेखि सडकसम्म कठोर ढंगले कांग्रेस उभिन्छ।’

पौडेल बुधबार साँझ रिहा भए पनि देशैभर प्रदर्शन नरोकिने शर्माले बताएका छन्।

‘तनहुँमा कुन पार्टीका नेता/कार्यकर्ताले के व्यवहार गरेका छन् भन्ने भन्दा हामी सरकारले के व्यवहार गरेको छ भन्ने हेर्छौं,’ शर्माले भने, ‘देशका विभिन्न ठाउँमा प्रदर्शन भएका छन्। बिहीबार पनि प्रदर्शन हुन्छ। आज पुल उद्घाटन हुन्छ।’

देशैभर विरोध प्रदर्शन गर्न तरूण दलको निर्देशन 

नेपाल तरूण दलले वरिष्ठ नेतामाथि दुर्व्यवहार भएको भन्दै देशैभर प्रदर्शन गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ।

अध्यक्ष जितजंग बस्नेतले जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै विरोध गर्न भनेका छन्।

‘हाम्रा वरिष्ठ नेता साथै नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यवाहक सभापतिलाई नियन्त्रण र दुर्व्यवहार गरेको विरोधमा सम्पूर्ण जिल्लामा सशक्त कार्यक्रमहरु संचालन गर्न तरूण दल केन्द्रिय समिति सबै जिल्ला समितिहरुलाई यो परिपत्र मार्फत निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

बुधबार तनहुँमा पुल उद्घाटन गर्नुअघि नेकपा कार्यकर्ताले विरोध गरेका थिए। पाँच जना नेकपाका स्थानीय कार्यकर्ता पनि पक्राउ परेका थिए।

नेकपा र कांग्रेसबीच झडप हुन सक्ने भन्दै प्रशासनले साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो।

नेकपाले संघीय सांसद कृष्णकुमार श्रेष्ठ किसानबाट पुल उद्घाटन गर्नुपर्ने बताइरहेको छ।

यो पुल २०७३ सालमा निर्माण सुरू भएर ०७५ सालमा निर्माण सकिएको थियो। निर्माण सकिएको दुई वर्षसम्म पुल उद्घाटन भएको थिएन।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology