आज गाई-गोरु तिहार मनाइँदै, नेवार समुदायमा म्ह पूजा

NAWALPUR TIMES

आज गाई-गोरु तिहार मनाइँदै, नेवार समुदायमा म्ह पूजा
1605403057946
काठमाडाैं। यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीकोसमेत पूजा गरी हली तिहार पर्व मनाइँदै छ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो।

 

गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्‍ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।

 

आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्त्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराजले बताए।

 

आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ। गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ। यसैले आजको दिनलाई गाईतिहार र हलीतिहारसमेत भन्ने गरिन्छ। आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ।

 

आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ। देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको समितिका अध्यक्ष गौतमले जानकारी दिए।

 

आत्म (म्ह) पूजा

 

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउने गरिएको छ। नेवार समुदायका मानिसहरुले भने आज बेलुकी आत्म (म्ह) पूजा गरी मनाउँदै छन्। आत्म नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो।

 

विगत वर्षजस्तै म्ह पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन्। नेपाल संवतकै दिन आत्मपूजा गर्नेले सोमबार गर्न लागेका हुन्। म्ह पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १४१ वर्ष अघिदेखि सुरु भएको नेपाल संवत्सँग जोड्नु नहुने समितिका सदस्य कीर्तिमदन जोशीले बताए।

 

धर्मशास्त्र र ज्योतिष विषयमा नजानेकाले राजनीतिक दबाबका भरमा चाडबाडमाथि हस्तक्षेप गर्दा यस्तो समस्या आएको उनको भनाइ छ। रासस

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology