आज कोजाग्रत पूर्णिमा, बडादशैंको अन्तिम दिन : धनधान्यकी देवि महालक्ष्मीको पुजा गरिदै

NAWALPUR TIMES

आज कोजाग्रत पूर्णिमा, बडादशैंको अन्तिम दिन : धनधान्यकी देवि महालक्ष्मीको पुजा गरिदै
1604024126804

काठमाडौं। धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैँ समापन हुँदैछ।

 

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ।

 

शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै हुनेछ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरू भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ। आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ।

 

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दसैँपर्व नेपालीले आ-आफ्नो गच्छेअनुसार मनाउँछन्। आजको दिन सायंकालमा महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा पर्व मनाउन सुरु गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।

 

माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ।

 

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ। यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ। महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ।

 

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने शनिबार रहेको जनाइएको छ। महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ।

 

आज २७ घडी ५८ पला अर्थात् बेलुकी ५ः२५ बजेसम्म चतुर्दशी तिथि छ। त्यसपछि पूर्णिमा तिथि लाग्छ। मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ। शनिबार पूर्णिमा तिथि ३३ घडी १६ पला अर्थात् बेलुकी ७ः३३ बजेसम्म छ।

 

चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले शनिबार परेको हो। कार्तिक स्नान र आकाशदीपदान पनि शनिबारदेखि नै सुरु हुनेछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology