आईपीएल : बैंगलोरलाई हराउँदै दिल्ली प्ले अफमा

NAWALPUR TIMES

आईपीएल : बैंगलोरलाई हराउँदै दिल्ली प्ले अफमा
1604368290987

अबुधाबी :  दिल्ली क्यापिटल्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा पुगेको छ। सोमबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पाराजित गर्दै दिल्लीले प्ले अफमा स्थान बनाएको हो।

शेख जायद रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर फिल्डिङ रोजेको थियो। पहिलो ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो। जवाफमा दिल्लीले १९ ओभरमा ४ विकेट गुमाउँदै १५३ रनको लक्ष्य भेट्टायो।

दिल्लीका लागि अजिंक्या रहानेले ६० तथा शिखर धवनले ५४ रन जोडे। त्यस्तै मार्कस स्टोनिसले १० रन बनाए।

दिल्लीका २ विकेट शाहबज अहमदले बैंगलारका लागि लिए। त्यस्तै मोहम्मद सिराज र वासिङ्टन सुन्दरले १/१ विकेट हात पारे।

यसअघि ब्याटिङ गरेको बैंगलोरका देवदूत पाडिकलले ५० रन बनाएका थिए। एबी डिभिलियर्सले ३५ रन बनाउँदा कप्तान विराट कोहली २९ रनमा आउट भएका थिए। बैंगलोरका पछिल्ला ब्याटसमेन दिल्लीका बलरको शिकार सहजै भएपछि बैंगलोर मध्यम स्कोरमै समेटिएको थियो।

बैंगलोरलाई मध्यम स्कोरमै रोक्न एनरिच नोट्र्जेले ३ विकेट झारे। त्यस्तै कगिसो रबाडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट हात पारे।

बैंगलोर दिल्लीसँग पराजित भएपनि प्ले अफमा भने पुगेको छ। १४ खेलबाट १४ अंक बटुलेका बाँकी दुई टिममध्ये बैंगलोर नेट रनरेटका आधारमा प्ले अफ पुगेको हो। बाँकी एक टिमको भने टुङ्गो लाग्न बाँकी छ। प्ले अफमा पुग्ने अर्को टिमको टुङ्गो मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको खेलले निर्धारण गर्नेछ।

यही खेलले कोलकाता नाइट राइडर्सको प्ले अफ यात्राको छिनोफानो गर्नेछ। यदि राम्रो नेट रेटमा हैदराबाद विजयी भएमा कोलकाता बाहिरिने छ भने उसको हारले कोलकाता प्ले अफमा पुग्नेछ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology