आइपिएलको खेल–तालिका सार्वजनिक : उद्घाटन खेलमा साबिक विजेता मुम्बईले चेन्नईको सामना गर्ने
NAWALPUR TIMES प्रकाशित : २०७७ भदौ २१ गते २२:४१
IMG 20200906 224056
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले आइतबार विश्वचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० को खेल–तालिका सार्वजनिक गरेको छ । यसपटक आइपिएल युएईमा विनादर्शक हुनेछ । १९ सेप्टेम्बरदेखि सुरु हुने आइपिएलको उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच खेल हुनेछ ।
प्रतियोगिताको फाइनल १० नोभेम्बरमा हुनेछ । लिग चरणको अन्तिम खेल १ नोभेबरमा चेन्नई र पन्जाबबीचकाे खेल आबुधावीमा हुनेछ । सोही दिन कोलकाताले राजस्थानको सामना दुबईमा गर्नेछ ।
आइपिएलको इतिहासमा पहिलोपटक फाइनल खेल मंगलबार राखिएको छ । यसअघिका सबै फाइनल आइतबार हुाे गर्थे । आइपिएलले दिनमा दुई खेल हुने जनाएको छ । अहिलेसम्म लिग चरण खेलमैदान निश्चित भइसकेको छ । प्ले अफ र फाइनल खेलको मैदानपछि निर्णय हुनेछ । बिसिसिआईले खेलाडी संक्रमित नहोस् भनी यसपटक प्रत्येक टोलीले खेलको २४ खेलाडी समावेश गर्नुपर्नेछ ।
यदि कुनै खेलाडी कोरोना संक्रमित भए, उनको स्थानमा जोकोही खेलाडी समावेश गर्न सकिने बिसिसिआईले जनाएको छ । बिसिसिआईले अनलिमिटेड कोरोना विस्थापन्न खेलाडीको प्रावधान बनाएको छ । आइपिएलमा कुल ६० खेल तीन रंगशालामात्र खेलाइनेछ । दुबई अबुधाबी र सारजहाँ रगशालामा खेल हुनेछन् । तीन सहरमा मात्र खेल हुँदा म्याच फिक्सिङ र भ्रष्टाचार हुने सम्भावना कम हुने बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले भारतीय एजेन्सीहरूलाई बताएका छन् ।
खेल भएको पाँचौँ दिन प्रत्येक खेलाडी, स्टार्फ र अम्पायरकाे कोरोना परीक्षण हुनेछ । बिसिसिआईले खेल–तालिका सार्वजनिक गरे पनि इंग्ल्यान्ड र अस्ट्रेलियाका खेलाडी पहिलो खेलमै समावेश हुने वा नहुने निर्णय गरेको छैन । यसपटक अस्ट्रेलियाका १७ तथा इंग्ल्यान्डका १३ खेलाडीले आइपिएलमा सहभागिता जनाउँदै छन् । आइपिएल सुरु हुने तीन दिनअघि इंग्ल्यान्ड र अस्ट्रेलियाबीच तेस्रो एकदिवसीय खेल हुनेछ ।
सोही खेलपछि मात्र खेलाडी आइपिएलमा आउन सक्छन् । दुवै मुलुकका खेलाडी लन्डनबाट दुबई यात्रा गर्नेछन् । दुबईमा अस्ट्रेलियन र इंग्ल्यान्डका खेलाडीको कोरोना परीक्षण हुने जनाइएको छ । यदि रिपोर्ट पोजेटिभ आए खेलाडीलाई सात दिनसम्म आइसोलेसनमा राखिनेछ । त्यसपछिको परीक्षण नेगेटिभ आए ती खेलाडीले आइपिएल खेल्नेछन् । आइपिएलको इतिहासमा मुम्बई इन्डियन्स सर्वाधिक सफल टोली हो ।
यो टोलीले चारपटक उपाधि जितेको छ । मुम्बईले आइपिएलमा कुल १८५ खेलमध्ये एक सय पाँच खेलमा जित निकालेको छ । आइपिएलमा प्रत्येक टोलीले धेरैमा २४ तथा औसतमा १८ खेलाडी समावेश गर्न सक्छन् । प्रत्येक टोलीले आठजना विदेशी खेलाडी राख्न पाउनेछन् । खेलको दौरान कम्तीमा चार जना विदेशी खेलाडीलाई खेलाउने पर्ने आइपिएलले जनाएको छ । सर्वाधिक अंक जोडने चार टोली प्ले अफका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको बेलमा २० हजार कोरोना टेस्ट हुने जनाइएको छ । यसका लागि बिसिसिआईले १० करोड भारु छुट्याइएको छ । आइपिएलको इतिहासमा चेन्नईका हरभजन सिंहको नाममा एक रेकर्ड छ । उनी सबैभन्दा डटबल फ्याँक्ने बलर हुन् । हरभजनले १६० खेलमा १५० विकेट लिएका छन् । उनले १२ सय ४९ पटक डटबल फ्याँकेका छन् । आइपिएलमा मुम्बईका लथिस मलिंगाले एक सय २२ खेलमा एक सय ७० विकेट लिएका छन् । उनी आइपिएलमा सर्वाधिक विकेट लिने बलर हुन् । यसपटक मलिंगाले प्रतियोगितामा भाग लिने छैनन् । उनी पनि व्यक्तिगत कारण देखाउँदै घर फर्किएका छन् ।
यसैगरी आइपिएलमै चेन्नईका सुरेश रैना दोस्रो सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन् । रैनाले एक सय ९३ खेलमा ५३ सय ६८ रन बटुलेका छन् । निजी कारण देखाउँदै घर फर्किएका रैनाले आइपिएलमा अलराउन्डर प्रदर्शन गरी २५ विकेट हात पारेका छन् । आइपिएलमा रोयल च्यालेन्ज बेंग्लोरका कप्तान विराट कोहलीको नाममा सर्वाधिक व्यक्तिगत रन बनाउने कीर्तिमान छ । विराटले एक सय ७७ खेलमा ५४ सय १२ रन बनाएका छन् । कोहली स्ट्राइक रेट १३१.६१ मा र रैना १३७.४१ स्ट्राइक रेटमा ब्याटिङ गर्छन् ।
यता बंगलादेशका मुस्तफिकर रहमानले आइपिएल गुमाउने सम्भावना छ । अहिलेसम्म बंगलादेश क्रिकेट बोर्डले मुस्तफिकरलाई नो अब्जेसन लेटर दिएको छैन । एनओसी पत्र नपाएकाले मुस्तफिकरले आइपिएल गुमाउन सक्नेछन । बंगलादेशले अर्को महिना श्रीलंकाको भ्रमण गर्दै छ । बोर्डले श्रीलंका भ्रमणमा रहने खेलाडीलाई विदेशी फ्रेन्चाइज लिग नखेल्न भनिएको छ । आइपिएलमा सहभागी आठ टोलीमध्ये सातले विदेशी मुख्य प्रशिक्षक राखेका छन् ।
Facebook Comment