आँखा उपचार गराउने आउने ९० प्रतिशतमा आँखा पाक्ने रोगको संक्रमण

NAWALPUR TIMES

आँखा उपचार गराउने आउने ९० प्रतिशतमा आँखा पाक्ने रोगको संक्रमण
madhyabindu

कावासोती । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा आँखाको उपचार गराउन आउने बिरामीहरु मध्य ९० प्रतिशतमा आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’को संक्रमण देखिएको छ ।

मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कंडेलका अनुसार अस्पतालको आँखा वार्डको ओपिडीमा आँखा उपचारको लागि दैनिक ४० देखि ५० जना बिरामी आउने गरेकोमा ९० प्रतिशत बिरामीलाई आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ को संक्रमण देखिएको हो ।

बालबालिकामा आँखा पाने रोग ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’को संक्रमण बढे पछि जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाले आवश्यकता अनुसार ३ देखि ५ दिन सम्म बिदा गर्न विद्यालयहरुलाई निर्देशन गरेको छ भने नेपाल विद्यार्थी संघ कावासोती नगर समितिले संक्रमण बढेको भन्दै तत्काल केही दिन विद्यालय बन्द गर्न आग्रह गर्दै कावासोती नगरपालिकामा ज्ञापनपत्र पेश गरेको छ । आँखा पाक्ने रोगबाट सबै उमेर समूहका संक्रमित भइरहेका भए पनि बालबालिकाहरुमा छिटो र धेरैको संख्यामा संक्रमित भएका हुन ।

आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको चिकित्सकहरु बताउछ्न ।

यो रोग लाग्दा संक्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा संक्रमण सर्छ । त्यसैले संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने चिकित्सकको सुझाव छ । यस्तो संक्रमण भएका बेला तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न दिनु हुँदैन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology