अस्ताए ‘बेनीको बजार…’ का सर्जक श्रेष्ठ

NAWALPUR TIMES

अस्ताए ‘बेनीको बजार…’ का सर्जक श्रेष्ठ
1616729158751

: ‘बेनीको बजार, जता माया उतै छ नजर…’ बोलको गीतका सर्जक गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ। लोकगीतमार्फत म्याग्दीको सदरमुकाम बेनी बजारको पहिचान स्थापित गर्न योगदान गरेका श्रेष्ठको बिहीबार बुटवलमा ७५ वर्षको उमेरमा निधन भएको हो। टिकाबहादुरका आफन्तसमेत रहेका नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले उनको मृत्यु भएको जानकारी दिए।

श्रेष्ठ मृगौला सम्बन्धी रोगबाट थलिएका थिए। पारिवारिक स्रोतकाअनुसार श्रेष्ठले मृगौलाको डायलाइसीस गर्दै आएका थिए। श्रेष्ठले वि.स. २०३१ मा रेडियो नेपालमा श्रीमती मन छन्त्यालसँगै गाएको ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल’बोलको गित रेकर्ड गराएका थिए्।

यो गितले बेनी बजारलाई राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा पहिचान गराउन महत्वपूर्ण योगदान गरेको छ। वि.स. २०११ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय नाचघरमा पहिलो पटक बेनीको बजार बोलको गीत गुञ्जिएको थियो।

टीकाबहादुर र मनको जोडीले गाएको यो गीतले तत्कालीन १४ वटै अञ्चलबाट प्रतियोगितामा सहभागी हुन आएका कलाकारको प्रस्तुतीलाई उछिनेर उत्कृष्ट भएको थियो। श्रेष्ठले म्याग्दीमा शिक्षण पनि गरेका थिए।

तत्कालिन धौलागिरी अञ्चलका अञ्चलाधिशको सिफारिसमा उनीहरु गीत प्रस्तुत गर्न काठमाडौ पुगेका थिए। स्वर्गीय कलाकार श्रेष्ठलाई म्याग्दी उद्योग वाणिज्य संघ, म्याग्दी जेसीज लगायत संघ संस्थाले सम्मान गरेका थिए।

मृगौला सम्बन्धी समस्याले थला परेपनि उनी सांगितिक क्षेत्रसँग नजिकै थिए। तबला, हार्मोनियम लगायत बाद्यबाधनका थुप्रै बाजा बजाउने कला पनि श्रेष्ठसँग थियो। बिरामी परेपछि पछिल्लो एक दशकयता श्रेष्ठ गुमनाम बनेका थिए।

बेनीलाई चिनाउन योगदान गरेका श्रेष्ठको निधनले म्याग्दीको कलाकारिता श्रेष्ठमा अपुरणीय क्षति पुगेको बताइएको छ। श्रेष्ठले सिर्जना गरेको बेनीको बजार…बोलको गित आम नेपाली मात्र नभएर विदेशबाट घुम्न आएका पर्यटकहरुले पनि गुनगुनाउछन्। सरल शब्द, सुरिलो स्वर र मिठासपूर्ण प्रस्तुतिले बेनीको बजार..गीत धेरैले सम्झने गर्छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology