अफगानिस्तान युद्ध: कान्दहारको जेल ‘तालिबानको कब्जामा’, सरकारद्वारा सेना प्रमुख हटाइए
NAWALPUR TIMES प्रकाशित : २०७८ साउन २८ गते ७:५८
119892071 a64da17f 9b7e 4f46 be78 39c3eb8d2b8a
अफगानिस्तानमा एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेको तालिबानले त्यहाँको दोस्रो ठूलो सहर कान्दहारको एउटा जेललाई आफ्नो कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको खबर आएको छ।
तालिबानले उक्त जेललाई आफूले नियन्त्रणमा लिएको बताए पनि हालसम्म त्यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन।
अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार देशको दक्षिणी भागमा अवस्थित उक्त सहरका “गल्ली गल्लीमा लडाइँ” जारी छ।
बढ्दो हिंसाका बीच बुधवार अफगान सरकारले त्यहाँका सेना प्रमुखलाई बर्खास्त गरेको थियो।
हालसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीहरूलाई नियन्त्रण गरिसकेको तालिबानले कान्दहारलाई पनि कब्जा गर्न प्रयास गरिरहेको छ।
रेडक्रसका अनुसार अफगानिस्तानको उक्त दक्षिणी सहरबाट मानिसहरू पलायन भइरहेका छन्।
त्यहाँ एक साताभित्र घाइते हुने सर्वसाधारणको सङ्ख्या दोबर भएको छ।
सेना प्रमुख बर्खास्त
श्रृङ्खलाबद्ध रूपमा अफगानिस्तानका प्रान्तीय राजधानीहरू तालिबानको कब्जामा गएपछि बुधवार अफगान सरकारले त्यहाँका सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको थियो।
उनी उक्त पदमा गत जुनमा नियुक्त भएका थिए।
उनका उत्तराधिकारीले देशभरि बढेको हिंसा र तालिबानको शक्तिसँग जुझ्नु पर्नेछ।
तस्बिर स्रोत,REUTERS
तस्बिरको क्याप्शन,राष्ट्रपति असरफ गनी सरकार समर्थक फौजलाई हौसला बढाउन एउटा र्यालीमा सहभागी हुन बुधवार मजार-ए-शरीफ सहरमा पुगेका थिए
अफगानिस्तानमा २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी फौजले छाडेपछि तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको हो।
संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिना मात्र त्यहाँ १,००० सर्वसाधारण मारिएका छन्।
परम्परागत रूपमा तालिबान विरोधी रहँदै आएको अफगानिस्तानको उत्तरी सहर मजार-ए-शरीफ पनि तालिबानी हमलाको चपेटामा परेको छ।
राष्ट्रपति असरफ गनी सरकार समर्थक फौजलाई हौसला बढाउन एउटा र्यालीमा सहभागी हुन बुधवार उक्त सहरमा पुगेका थिए।
राष्ट्रपति गनीले त्यहाँ रहँदा उज्बेक जातीय समूहका युद्ध सरदार र ताजिक जातीय समूहका स्थानीय प्रभावशाली नेतासँग सहरको बचाउबारे वार्ता गरेका थिए।
वर्षौँसम्म राष्ट्रपति गनीले राष्ट्रिय सेनालाई बलियो बनाउने प्रयास स्वरूप अफगान जातीय समूहका युद्ध सरदारहरूलाई पाखा लगाउने गरेका थिए।
तर अहिले आवश्यक परेका बेला तिनीहरूकै सहायताका लागि उनी फर्किएको बीबीसी संवाददाताले बताएका छन्।
यसैबीच नजिकैको कुन्दुज सहरमा सयौँ सरकारी सेनाले त्यहाँको विमानस्थलमा लडाकुहरू समक्ष आत्मसमर्पण गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले यसै साता उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताएका थिए।
यद्यपि बाइडनले ‘आफ्नो देशका लागि लड्न’ अफगान नेताहरूलाई एक हुन आह्वान गरेका थिए।
‘९० दिनभित्र काबुलमा तालिबानले नियन्त्रण गर्छन्’
उक्त समूहसँग लड्नका लागि अमेरिकी र अफगान जहाजहरूले तालिबानको नियन्त्रण रहेका क्षेत्रहरूमा हवाई हमला गरिरहेका छन्।
बुधवार वाशिङ्टन पोस्ट पत्रिकाले नाम उल्लेख नगरिएका अधिकारीहरूलाई उदृत गर्दै राजधानी काबुल ९० दिनभित्र तालिबानको नियन्त्रणमा जानसक्ने खबर प्रकाशित गरेको थियो।
अमेरिकी सेनाको आकलनका आधारमा उक्त समाचार प्रकाशित भएको बताइएको थियो।
तर राष्ट्रपति गनीका वरिष्ठ सल्लाहकार वाहीद उमरले उक्त अनुमानलाई खारिज गरिदिएका छन्।
“यो हाम्रा लागि एकदमै कठिन अवस्था हो तर हामीलाई थाहा छ- हामी विजयी हुनेछौँ” उनले बीबीसीसँग भने।
“उनीहरूले (तालिबान) केही भूभाग कब्जा गरेका छन् तर यो भूभागसँग सम्बन्धित विषय होइन, जनतासँग सम्बन्धित हो। जनता उनीहरूलाई चाहदैँनन् र आफ्नै मानिसहरूलाई आक्रमण गर्नु उनीहरूको गल्ती थियो भनेर उनीहरूले चाँडै थाहा पाउनेछन्।”
Facebook Comment