अफगानिस्तानमा कठोर कानून: महिलालाई बोल्नै निषेध, पुरुषले दाह्री र कपाल पनि काट्न नपाउने

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ १३ गते ९:४१

कावासोती । अफगानिस्तानको तालिबान सरकारले महिलामाथि विभिन्न प्रतिबन्ध लगाउने नयाँ कानून ल्याएको छ । तालिबान सरकारले गत साता महिलासम्बन्धी नयाँ कानून ल्याएको हो ।

यो नयाँ कानूनलाई तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेका छन् । अब कार्यान्वयन गर्ने जिम्मा नैतिकता मन्त्रालयलाई दिइएको छ ।नयाँ कानूनमा महिलालाई घरबाहिर चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन निषेध गरिएको छ । यसैगरी महिलालाई सार्वजनिक स्थानमा अनुहार छोप्न आदेश दिइएको छ ।

कानूनबाट कसैलाई पनि छुट नहुने मन्त्रालयले जनाएको छ । कानूनअनुसार नैतिकता प्रहरीले सार्वजनिक स्थानमा कसले के लगाएको छ भनेर जाँच गर्नेछ । तालिबानका अनुसार यी नियम इस्लामको शरिया कानूनी प्रणालीको आधारमा बनाइएको हो ।

सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले २०२२ मा नै यस सम्बन्धमा आदेश दिएका थिए । तर, अहिले मात्रै औपचारिक रूपमा कानूनको रूपमा ग्रहण गर्न लागिएको हो ।

कानूनअनुसार महिलाले आफ्नो पूरै शरीर ढाक्नुपर्छ, सार्वजनिक स्थलमा महिला चुपचाप बस्नु पर्नेछ, सार्वजनिक स्थान र घरमा ठूलो स्वरमा गाउन र पढ्न निषेध गरिएको छ ।

नयाँ कानूनमा महिलाबाहेक पुरुषमाथि पनि प्रतिबन्ध लगाइएको छ । पुरुषलाई महिलाको शरीर र अनुहार हेर्न निषेध गरिएको छ । महिलाहरूलाई पनि त्यसै गर्न आग्रह गरिएको छ ।

पुरुषले आफ्नो कपाल शरियाअन्तर्गत राख्नु पर्छ । पुरुषलाई पनि टाई लगाउन प्रतिबन्ध लगाइएको छ । तालिबानले धेरै ठाउँमा पुरुषको दाह्री र कपाल काट्न प्रतिबन्ध लगाएको छ ।

अफगानिस्तानको नैतिकता पुलिसले नयाँ कानून सबै ठाउँमा पालना भइरहेको छ वा छैन हेर्ने छ । प्रहरीको काम कानून मिच्नेलाई अदालतमा पुर्‍याउने पनि हो ।

साथै, नैतिकता प्रहरीले ट्याक्सी चालकहरूलाई आमाबाबु र दाजुभाइजस्ता पुरुष आफन्तहरू सँगसँगै नआएका महिलाहरूलाई लैजानबाट रोक्न सक्छ ।

यो अवधिमा महिलाले हिजाब पनि लगाउनु पर्नेछ । यसका साथै कारमा पुरुष र महिला सँगसँगै बस्न पनि प्रतिबन्ध लगाइएको छ ।

नयाँ कानूनअनुसार जीवित प्राणीको तस्बिर बनाउन वा प्रकाशन गर्न पनि प्रतिबन्ध लगाइएको छ । यस्तो अवस्थामा कुनै पंक्षी, जनावर वा परिवारका सदस्यको तस्विर बनाउन प्रतिबन्ध लगाइएको छ ।

नयाँ नियम अनुसार जीवित प्राणीको मूर्ति खरिद बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ ।

कानूनअनुसार नैतिकता प्रहरीले रेडियो र टेप रेकर्डरको दुरुपयोगलाई पनि रोक्ने छ ।

किनभने शरिया कानूनअनुसार गीत बजाउनु हराम हो । यसबाहेक कुनै पनि जीवित प्राणीमाथि बनेको फिल्म हेर्न प्रतिबन्ध लगाइएको छ ।

कसैले कानून उल्लंघन गरी निन्दनीय कार्य गरेमा तीन दिनसम्म जरिवाना र जेल सजाय हुन सक्नेछ । तालिबान सरकारले गत वर्ष शरिया कानूनको पालना नगरेको भन्दै मोरालिटी पुलिसले १३ हजारभन्दा बढी व्यक्तिलाई अस्थायी रूपमा हिरासतमा लिएको थियो।

धेरैले यी नयाँ कानूनको आलोचना गरिरहेका छन् । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय सहायता नियोगका प्रमुख रोजा ओतुनबायेभाले दशकौंको युद्ध र सङ्कटपछि अफगानिस्तानका जनता अझ राम्रोका हकदार रहेको बताइन् । एजेन्सीहरूको सहयोगमा

प्रकाशित : २०८१ भदौ १३ गते ९:४१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI