अफगानिस्तानः पन्जशिर उपत्यका नियन्त्रणमा लिएको तालिबान दाबी, विरोधी समूह भन्छ ‘सत्य हैन’
NAWALPUR TIMES प्रकाशित : २०७८ भदौ २१ गते २१:१४
120407108 b8a96391 83f4 42f5 b0de 24d5349d70e1
तालिबानले आफ्नो नियन्त्रणमा आउन बाँकी रहेको पन्जशिर प्रान्तमा पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ।
राजधानी काबुलबाट उत्तरमा अवस्थित उक्त प्रान्तमा तालिबान शासनको प्रतिरोध हुँदै आएको छ। केही दिनदेखि त्यहाँ लडाइँ भइरहेको बताइन्छ।
“यो विजयसँगै हाम्रो देशलाई पूर्णतः युद्धको दलदलबाट निकालिएको छ,” तालिबानका एक प्रवक्ताले भने।
तर तालिबानको प्रतिरोध गरिरहेको न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले तालिबानको दाबीको खण्डन गरेको छ।
“यो सत्य हैन। तालिबानले पन्जशिर उपत्यकालाई नियन्त्रणमा लिएको छैन। म तालिबानको दाबीको खण्डन गर्छु,” एनआरएफका प्रवक्ता अलि मैसमले बीबीसीसँग भने।
उक्त समूहको ट्विटरमा भनिएको छः ”एनआरएफका सैनिकहरू युद्धलाई निरन्तरता दिन उपत्यकाका सबै रणनीतिक स्थानमा छन्। हामी अफगनिस्तानका जनतालाई आश्वस्त पार्न चाहन्छौँ कि न्याय र स्वतन्त्रता कायम नभएसम्म तालिबान र तिनका साझेदारविरुद्धको सङ्घर्ष जारी रहन्छ।”
सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा प्रान्तीय गभर्नरको कार्यालयको प्रवेशद्वारअगाडि तालिबान लडाकुहरूलाई देखाइएको छ। बीबीसीले ती तस्बिरलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
विद्रोह गर्न आह्वान
सामाजिक सञ्जालमा प्रेषित एउटा श्रव्य सामग्रीमा एनआरएफका नेता अममद मसूदले तालिबानविरुद्ध देशभरि विद्रोह गर्न आह्वान गरेका छन्।
धार्मिक नेताहरूको आग्रहलाई अनादर गर्दै लडाकुहरूले उनको सेनालाई आक्रमण गरेको र उनको परिवारका सदस्यहरू पनि आइतवार मारिएको उनले बताए।
तस्बिर स्रोत,REUTERS
तस्बिरको क्याप्शन,अहमद मसूदको सन् २०१९ मा खिचिएको तस्बिर
उक्त सामग्री १९ मिनट लामो छ।
अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई वैधानिक आरोप उनले लगाएका छन्।
हिमाली भेगमा रहेको पन्जशिर उपत्यकामा डेढदेखि दुई लाख मानिस बस्छन्।
यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि पन्जशिर उनीहरूको नियन्त्रणमा गएको थिएन।
सन् १९८० को दशकमा सोभियत सेनाविरुद्ध र सन् १९९६ देखि २००१ सम्म तालिबानको प्रतिरोध भएको थियो।
स्थानीय कबिलाका नेता अमहम मसूदले अहिले तालिबानविरुद्धको सङ्घर्षको नेतृत्व गरिरहेका छन्। यसअघि उनका पिताले सोभियत सेना र तालिबानको प्रतिरोध गरेका थिए।
तर सेप्टेम्बर ११ को घटना हुनु दुई दिनअघि उनको हत्या भएको थियो।
वार्ताको चर्चा
यसअघि तालिबानविरुद्ध युद्ध गरिरहेको प्रतिरोधी समूहका नेताले आफू शान्तिवार्ताका लागि तयार भएको बताएका थिए।
वार्ताबाट समाधान खोज्न धार्मिक नेताहरूले ल्याएको एउटा प्रस्तावप्रति आफू सकारात्मक भएको जनाउ दिँदै अहमद मसूदले तालिबानलाई आफ्नो आक्रमण रोक्न आह्वान गरेका थिए।
विरोधीहरूको गढ मानिएको पन्जशिरमा तालिबान तीव्र गतिमा बलियो बन्दै गरेको विवरण आएको थियो।
राजधानी काबुलबाट उत्तरमा अवस्थित उक्त प्रान्तमा तालिबान शासनको प्रतिरोध हुँदै आएको छ।
तालिबानले तीन साताअघि अफगानिस्तानका बाँकी भाग र पश्चिमा राष्ट्रहरूले समर्थन गरेको सरकार धराशायी भएपछि अगस्ट १५ मा राजधानी काबुल आफ्नो नियन्त्रणमा लिएको थियो।
तालिबानले आक्रमण गर्न रोक्ने हो भने आफ्नो नेतृत्वमा रहेको एनआरएफ पनि लडाइँ रोक्न तयार हुने अहमद मसूदले फेसबुकमा लेखेका थिए।
तालिबानको प्रतिरोध गर्ने एनआरएमा अफगान सुरक्षा निकाय काम गरेका पूर्वसुरक्षाकर्मी र स्थानीय लडाकु छन्।
Facebook Comment