अदालत फोडेर मध्येराति पेस्तोल र गोली चोरी

NAWALPUR TIMES

कावासोती । कैलाली जिल्ला अदालतमा आइतबार राति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब साढे १० बजे अदालतको दक्षिणतर्फ रहेको अभिलेख शाखाको ग्रिल फोडेर भित्र पसेका व्यक्तिहरूले मुद्दाका मिसिलका साथमा रहेका पाँच थान मोवाइल, एक थान कटुवा पेस्तोल र त्यसका चार वटा गोली चोरेर लगेका छन् ।

अदालतको प्रवेशद्धार र परिसर भित्र प्रहरीले सुरक्षा दिने भएपनि प्रहरी नरहेको दक्षिणतर्फको भागबाट भित्र पसेका व्यक्तिहरूले श्रेस्तेदार, मुद्दा दर्ता फाँट, अभिलेख शाखा सबै तिर गएको देखिएको प्रहरीले बतायो ।

उनीहरू पहिलेदेखि नै कुन मिसिल कहाँ छ, मुद्दा फाँट कहाँ छ ? भन्ने जानकारी राखेर भित्र पसेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए । सबै तिर अवलोकन पनि मुद्दा दर्ता फाँटमा मिसिलसँगै रहेका मोवाइलहरू र कटुवा पेस्तोल लगेको देखिएको छ ।

अदालत भित्र चोरी भएको घटना प्रहरीले बिहान मात्र जानकारी पाएको थियो । त्यही परिसरमा रहेका प्रहरीले समेत राति चोरी भएको थाहा पाएनन् ।

प्रहरीले चोरीमा संलग्न व्यक्तिहरू मुद्दासँगै सम्बन्धित भएको अनुमान गरेको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको चन्दले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology