अझै हटेन वाल्मिकी आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन ४ गते १८:१६
अझै हटेन वाल्मिकी आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता
received 634722271572890

सन्जय भट्टराई/कावासोती ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणीधाम र चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रम जोड्ने झोलुङ्गेपुलको निर्माण सम्पन्न भए पनि नवलपुरको त्रिवेणीधाम हुँदै वाल्मीकि आश्रम जाने पर्यटकहरुले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै पनि हटेको छैन ।

त्रिवेणीधाम र वाल्मीकि आश्रम जोड्नका लागि दुई वर्षमा निर्माण सक्नेगरी २०७० सालको असार ३० गते सम्झौता गरिए पनि नौ वर्षपछि गत वर्ष झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको हो । पुल बने पनि चितवनतर्फको निकुञ्जको जङ्गलमा करिब एक हजार सात सय मिटर लामो ट्र्याक खुल्न नसक्दा वाल्मीकि आश्रम पुग्न अझै पनि भारतको बाटो प्रयोग गनु पर्ने बाध्यता रहेको हो ।

जो कोहीले पनि पूर्वपश्चिम राजमार्गको बर्दघाट बजारबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणीमा नारायणी नदीमाथि बनेको गण्डक बाँध कटेर भारत विहार राज्यको वाल्मीकि नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जङ्गल पार गरेर वाल्मीकि आश्रम पुग्नु पर्छ ।

पुल निर्माण सम्पन्न भए पनि चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा ट्रयाक खुल्न बाँकी रहेकाले पुल सञ्चालनमा आउन नसकेको विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ का वडा  अध्यक्ष नुरेन्द्र शाहले बताए । चालू आ.व ८०/८१ मा गण्डकी प्रदेश सरकारबाट ट्रयाक खोल्नका लागि रु १५ लागि बजेट विनियोजन भएकाले अब निकुञ्जको सहयोगमा ट्रयाक बिस्तार गरिने अध्यक्ष शाहले बताए । निकुञ्ज सँग समन्वय भैरहेको र ट्रयाकका लागि बजेट व्यवस्थापन भएको हुदा आउने दशैँ लगत्तै ट्रयाक खोल्ने काम अगाडि बढने उनले बताए । त्रिवेणी बजारमा रहेको पुलको प्रवेश द्वारमा चेक पोस्ट बनाउने काम पनि छिट्टै सुरु हुने वडा अध्यक्ष शाह बताउछ्न । चेकपोस्ट बनाउने जिम्मा रहेको झोलुङ्गे पुल डिभिजन कार्यालयका ईन्जिनियरको टोलीले छिट्टै चेकपोस्टको काम सुरु गर्ने आश्वासन दिएको उनले बताए । ट्रयाक खोल्ने काम र चेकपोस्टको काम सकिए लगतै पुल सन्चालनमा आउने र यसले त्रिवेणी र नवलपुरको धार्मिक पर्यटनमा थप टेवा पुर्‍याउने उनको भनाई थियो ।

वाल्मीकिले संस्कृत रामायण रचना गरेको र राम–सीताका छोरा लवकुश जन्मेहुर्केको विश्वास गरिने चितवनको माडी नगरपालिकामा पर्ने वाल्मीकि आश्रममा पुग्न भारतको बाटो प्रयोग गरेर आश्रम पुग्ने नेपाली तीर्थयात्रीलाई भारतीय सीमा सुरक्षा बलले निकै कडाइ गर्ने गरेका छन् । बाटोमा पर्ने वाल्मीकि टाइगर रिजर्भ वनपोस्टमा टिकट नै काट्नुपर्ने र भारतीय सुरक्षा पोस्टमा ठाउँठाउँमा सोधपुछ हुने हुँदा नेपाली तीर्थयात्रीलाई सहजै आश्रममा पुग्न कठिन हुने गरेको र पुल निर्माण भएसँगै नेपालकै बाटो प्रयोग गरेर आश्रममा पुग्न सहज हुने र यसले त्रिवेणी र यस क्षेत्रको धार्मिक पर्यटनमा थप टेवा पुर्‍याउने अध्यक्ष शाहको भनाई थियो ।

प्रकाशित : २०८० साउन ४ गते १८:१६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI