अझै खुलेन कावासोती नगरपालिकामा लगाईएको ताला

NAWALPUR TIMES

अझै खुलेन कावासोती नगरपालिकामा लगाईएको ताला
1686469101733

नारायण शर्मा/कावासोती । माध्यमिक तहसम्म नि:शुल्क शिक्षाको माग राख्दै कांग्रेस निकट नेविसंघले नगरपालिका कार्यालयमा लगाएको ताला आज नवौं दिनसम्म पनि खुल्न सकेको छैन । मेयरको कार्यकक्षमा लगाइएको ताला नखुल्दा दैनिक काम प्रभावित भएको छ ।

शैक्षिक सुधारका लागि पटक–पटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउँदा समेत नगरपालिकाले चासो नदिएपछि कावासोती नगर प्रमुखको कार्यकक्ष र शिक्षा शाखामा गत शुक्रबार तालाबन्दी गरेको नेविसंघका जिल्ला अध्यक्ष हरि सुवेदीको भनाइ छ । त्यसअघि उनीहरुले नगरपालिकामा धर्ना समेत दिएका थिए । निःशुल्क शिक्षा, संस्थागत विद्यालयमा बर्सेनि भर्ना र अतिरिक्त शुल्क वृद्धि गर्न नपाइने, संस्थागत विद्यालयमा बर्सेनि पाठयपुस्तक परिवर्तन गरेर नगरपालिकाले कमिसन खाने परिपाटीको अन्त्य हुनुपर्ने र विद्यालयको शुल्क बन्द हुनुपर्ने लगायतका माग अघि सारेको अध्यक्ष हरि सुवेदी बताउँछन् ।

वार्तामा बस्नका लागि पटक पटक समय माग्दा पनि मेयरले बेवास्ता गरेको नेविसंघको आरोप छ । कावासोतीका मेयर विष्णप्रसाद भुसालले नगरपालिकाभित्र पूरै नि:शुल्क शिक्षा गर्न आर्थिक रुपले थेग्न नसकिने भएकाले तत्काल पूर्ति गर्न नसकिने बताए । नि:शुल्क शिक्षा गर्दा वार्षिक २२ करोड थप व्यय भार बढ्ने भएकाले तत्काल त्यो माग पूरा गर्न नसकिने तर सम्भव हुने विषय चरणबद्ध रुपमा पूरा गर्दै जाने उनले बताए । नि:शुल्क पुस्तक र खाजाको व्यवस्था गरिँदै आएको र नि:शुल्क शिक्षाका लागि क्रमश: प्राथामिकतामा राख्दै जान सकिने उनको भनाइ छ ।

नगर शिक्षा शाखाले विद्यार्थीहरुसँगको वार्तामा नगरपालिकाले २५ प्रतिशत रकम थपे माग पूरा गर्न सकिने भनेर झुटा आश्वासन दिएकाले समस्या थपिएको भुसालले बताए । ‘एक चरणको वार्तामा शिक्षा शाखाका अधिकारीहरुले हचुवाको भरमा बोल्दिएछन् विद्यार्थीले त्यही कुरा समातेर अड्डि कसेका छन्,’ उनले भने, ‘नगर शिक्षा शाखाका अधिकृतहरु गैरजिम्मेवार भए ।’

कावासोती नगरपालिकामा शिक्षाको वार्षिक बजेट हाल ४२ करोड रहेको छ । त्यसमा एकै पटक २२ करोड व्यय भार पर्ने भएकाले विद्यार्थीको माग एकै पटक पूरा गर्न नसकिने मेयर भुसालले बताए । ‘माग जायज छन्,’ भुसालले भने, ‘माध्यमिक तह सम्मको शिक्षा नि:शुल्क हुनुपर्ने माग जायज छ तर एकै पटक सकिँदैन ।’

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology