अकला गुफाको संरक्षणमा चासो

NAWALPUR TIMES

अकला गुफाको संरक्षणमा चासो
1680957572035

कावासोती  जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने अकला गुफाको संरक्षणमा चासो दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली गाउँपालिका–२ डेढगाउँमा रहेको अकला गुफाको संरक्षणमा अकलादेवी गुफा तथा मन्दिर व्यवस्थापन समितिले हालैमात्र पहुँचमार्गका रुपमा बाटो निर्माण गरेको छ । 

पर्यटनको सम्भावना बोकेको अकला गुफाको संरक्षण नहुँदा यसै ओझेलमा परेको थियो । हाल समितिको पहलमा अकला मन्दिरदेखि अकला गुफासम्म जाने करिब एक सय ५० मिटर लम्बाइको बाटो निर्माण गरिएको समितिका अध्यक्ष टंक पुलामीले बताए । गुफासम्म पुग्ने बाटो नै हराउँदै जाँदा मन्दिरमा आएका पर्यटक सहजरुपमा गुफासम्म जान सकिरहेका थिएनन् । यसले गर्दा अकला गुफा ओझेलमा पर्दै आएकोमा अहिले गाउँपालिकाको सहयोगमा बाटो निर्माणको काम गरिएको अध्यक्ष पुलामीले बताए ।

पर्यटनको सम्भावना बोकेको अकला गुफा करिब एक सय मिटर लम्बाइको छ । यस गुफामा सहजैरुपमा वारपार गर्न सकिन्छ । गुफाको एक भागबाट अर्को भागमा निस्किँदा  धेरैजसो स्थानमा उठेरै पार गर्न सकिन्छ । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान भए पनि संरक्षणको अभावमा ओझेलमा पर्दै आएकाले हाल गुफाको संरक्षणको अभियान सुरु गरिएको अध्यक्ष पुलामीले बताएका छन्। 

‘यहाँ रहेको अकला मन्दिर जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हो, तर नजिकै रहेको गुफामा सहजरूपमा पहुँचमार्ग नहुँदा ओझेलमा परिरहेको थियो, यसको संरक्षण र प्रचारप्रसार पनि कम हुँदा त्यति मान्छे आउँथेनन्’, अध्यक्ष पुलामीले भने, ‘हामी अहिले मन्दिरसँगै गुफाकोसमेत संरक्षण र प्रवर्द्धनमा लागेका छौँ ।’

गुफाभित्र प्रवेश गर्दा अनेकौँ कलात्मक आकृति देख्न सकिन्छ । चमेराको बथानसहित गुफाको भित्री भागको भित्तामा कलात्मक आकृतिले अकला गुफाको आकर्षण बढाएको छ । यसको संरक्षण हुन सकेको थिएन । अहिले बाटो निर्माणसहित गुफामा बत्ती जडानको कामसमेत गरिएको समितिका अध्यक्ष पुलामीले बताए । गुफामा पौराणिककालमा ऋषिमुनिले तपस्या गरेको कथन छ । यसको आवश्यक खोज र अनुसन्धान भने हुन सकेको छैन । यसको खोज तथा अनुसन्धान हुनसमेत आवश्यक रहेको समितिका अध्यक्ष पुलामीले बताए । 

अकला गुफासँगै अहिले यहाँ रहेको अकलादेवी मन्दिरमा समेत रङरोगन, गेट निर्माण, बत्ती जडानलगायतका विविध काम गरिएको उनले जानकारी दिए । मन्दिर नजिकै पार्क निर्माण गर्न लागिएको उनले बताए। मन्दिर दर्शनका लागि दैनिकजसो जिल्ला तथा जिल्ला बाहिरबाट भक्तजन आउने गरेको उनले बताए । 

अकला मन्दिर र अकला गुफालाई जोडेर पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न सकिने सम्भावना रहेको छ । मन्दिरसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गुफासम्म पुर्‍याउन सकेमात्र पनि गुफाको महत्व बढ्ने गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताएका छन् । 

गुफाको संरक्षणका लागि  पालिकाबाट आवश्यक काम गरिने अध्यक्ष ओझाले बताए। मन्दिर र गुफा पालिकाको मात्रै नभएर जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल भएकाले यसको संरक्षण र प्रवर्द्धनमा पालिका सधैँ लागिपर्ने उनले बताए।रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology