वन डढेलो नियन्त्रण गर्न नवलपुरमा विषेश अभियान

NAWALPUR TIMES

वन डढेलो नियन्त्रण गर्न नवलपुरमा विषेश अभियान
431161066 3724038131185693 4131132200452284841 n 768x346 1

कावासोती । वन डढेलो रोकथामका लागि नवलपुरमा आज देखि विशेष अभियान सञ्चालन गरिएको छ । जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा रहेपछि विशेष अभियान सञ्चालन गरिएको हो ।

वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि आगामी चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना सप्ताह’ कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशवअधिकारीले बताउनुभयो ।

जस अन्तर्गत समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना गर्ने, फायर लाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गरहरू हटाउने तथा जलाउने लगायतका कार्यहरू सञ्चालन गरिने भएको छ । कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तर्क्रिरया गर्दै सप्ताहव्यापी रूपमा कार्यक्रमलाई अगाडि बढाउने कार्यालय प्रमुख अधिकारीले बताउनु भयो ।

“आज गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत राजमार्ग सडक तथा भित्री सडक छेउछाउको पातपतिङ्गर हटाउने, सरसफाइ गर्ने र पूर्व तयारीका कार्यक्रम सञ्चालन गरिने छ”, उहाँले भन्नु भयो ।

वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । यस जिल्लाको अधिकांश सामुदायिक वनहरू डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क र सुरक्षा अपनाउन डिभिजन वन कार्यालय प्रमुख अधिकारीले आग्रह गर्नुभयो । वन डढेलो जोखिम उच्च जिल्लाहरू मध्ये नवलपरासी(बर्दघाट सुस्तापूर्व) १६ औँ स्थानमा रहेकाले डढेलोबाट वन जोगाउन सबै व्यक्ति सचेत हुन आवश्यक रहेको प्रमुख अधिकारीले बताउनु भयो । जिल्लामा ५८ प्रतिशत भूभाग वनजंगलले ढाकेको छ ।

“वन जङ्गलमा सुख्खा मौसमको समयमा लाग्ने आगलागी तथा डढेलोबाट हुन सक्ने नोक्सानी र डढेलो लाग्नै नदिने उपाय बारे सरोकारवालाहरुलाइ जानकारी गराउन अभियान सञ्चालन गरेका हौँ”, उहाँले भन्नु भयो “जिल्लामा वन डढेलोका कारण हुने गरेको क्षति, प्रभाव, वन डढेलोबाट वन जोगाउन खेल्नुपर्ने भूमिका र यसका चुनौतीका विषयमा व्यापकरुपमा सूचित गरिने छ ।”

नेपालमा मानवीय कारणले गर्दा बढी वन डढेलो हुने गरेको तथ्याङ्कमा देखिएको छ । मानवीय कारणले ९६ प्रतिशत ,प्राकृतिक कारणले एक प्रतिशत र चार प्रतिशत बन डढेलोका कारण थाहा नभएको प्रमुख अधिकारीले बताउनु भयो ।

“घाँस पलाउने, च्याउ आउने भन्ने धारणका कारण वनमा आगो लगाउने, वन्यजन्तुको सिकारका लागि समेत कतिपयले वनमा जानाजान आगो लगाउने गर्दा ठुलो वन विनाश हुने गरेकाले समुदायले यस्ता प्रवृत्तिको रोकथामका लागि काम गर्नु पर्ने देखिन्छ”, उहाँले भन्नु भयो ।

डढेलोले जन, धन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा उपभोक्ता, वन हेरालु र वन उपभोक्ताको उप समिति, नेपाली सेना सँग सहकार्य गरी अभियान सञ्चालन गरिएको हो ।रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology