मृत्यु पर्खिरहेका गिद्ध

NAWALPUR TIMES

मृत्यु पर्खिरहेका गिद्ध
InShot 20241118 150147285 scaled

सन्जय भट्टराई, कावासोती । मृत्यु सत्य छ । त्यसमा कसैले बहस, विवाद, रोकावट या फिराद गरेर पार पाउन सकिंदैन । मानिसको होस् या पशुपक्षी र जीवजन्तुको, मृत्यु सत्य छ । जन्मसँगै मृत्यु लेखेर ल्याएको हुन्छ हरेक प्राणीले । हो यहि मृत्यु पर्खिरेहका छन कावासोतीको जटायु रेष्टुरेन्टमा रहेका दुई वटा हिमाली र एउटा सानो खेैरो गिद्ध ।

जटायु रेष्टुरेन्ट प्र्रवेश गर्न साथ दाहिने तर्फ रहेको जाली लगाईएको पिजँडा जस्तै ठाउँमा ३ वटा गिद्धहरु बाहिरी वातावरणमा रहेका अन्य गिद्ध भन्दा फरक तरिकाले राखिएको छ, उनीहरुले नियमित आहारा पाउछन, नजिकै पानी राखिएको पानी पिउछन तर उनीहरुले आकाशमा उडान भर्न छाडेको ४ वर्ष जति भयो ।

करीब ३ वर्ष अगाडी जाजरकोटमा बिरामी अवस्थामा फेला परेको करिब ७ वर्षको गिद्धलाई त्यहाँको डिभिजन वनको सहयोगमा जटायु रेष्टुरेन्टमा ल्याईएको हो भने अर्को हिमाली गिद्ध सुर्खेतमा बिरामी अवस्थमा फेला परेको जानकारी पाए पछि जटायु रेष्टुरेन्टको टोलीले उद्धार गरेर ल्याएको हो । अर्को सानो खेैरो गिद्ध भने पाल्पाको खैरेनी सामुदायिक वनबाट उद्धार गरेर ल्याईएको हो । सुर्खेतबाट उद्धार गरेर ल्याईएको काँक्रे बिहार आसपास बिरामी अवस्थामा फेला परे पछि स्थानियले खबर गरेका थिए । सुर्खेतबाट स्थानियले कोहलपुर सम्म ल्याएका थिए भने कोहलपुरबाट उक्त गिद्धलाई जटायुको टोलीले यहाँ सम्म ल्याएको हो ।

तीन वटै गिद्धलाई उद्धार गरेर यहाँ ल्याएर निरन्तर उपचार गरे पनि अब यिनीहरुको उपचार सम्भव नरहेको नेपाल पंक्षी संरक्षण संघका संरक्षण अधिकृत देउबहादुर रानाले बताए । रानाका अनुसार जाजरकोटबाट ल्याईएको हिमाली गिद्ध  उडन नसक्ने छ भने सुर्खेतबाट उद्धार ल्याईएको मा आँखा नदेख्ने र उडन नसक्ने  सम्स्या छ । त्यस्तै पाल्पाबाट उद्धार गरेर ल्याईएको गिद्ध ल्याउदा नै अत्यन्तै कमजोर रहेको र यहाँ ल्याएर उपचार गर्दा समेत सुधार हुन नसकेको हो ।

उनीहरुलाई यहाँ ल्याए पछि सम्भव भएका सबै खाले उपचार गरिएको भए पनि निको नहुने भएकाले आहारा खुवाएर पिजँडामा राखिएको राना बताउछन । ‘उनीहरूको विगत चार वर्षदेखि निरन्तर उपचार गरिरहे पनि आँखाको ज्योति फर्काउन र पखेटामा समस्या भएकालाई उड्न सक्ने बनाउन सकिएन, रानाले भने, ‘उनीहरूलाई अब बाचुन्जेल यही पिँजडामा राखेर रेखदेख गर्नुपर्ने भएको छ ।’ अहिले यी तीन वटा गिद्धहरुलाई जटायु रेष्टुरेन्टका हेरालुले दैनिक आहारा र पानी दिन्छन, यहाँका प्राविधिकले आवश्यक ठाने उनीहरुले बताएको औषधी दिन्छन, उनीहरु उडन सक्दैन मृत्यु पर्खिरेहका छन । यी गिद्धहरु जन्मजात बिरामी नभई हिमालबाट आउने क्रममा बिरामी परेका हुन् । कहिले खाना नपाएर, करेन्टमा परेर, मानिसले हानेर, असिनाले लागेर वा कहिलेकाहीँ झैझगडा गर्दा पनि गिद्ध घाइते भएको हुन सक्ने रानाले बताए ।

पाल्पाबाट उद्धार गरेर ल्याईएको सानो खैरो गिद्ध
पाल्पाबाट उद्धार गरेर ल्याईएको सानो खैरो गिद्ध

जटायु रेस्टुरेन्टले अहिलेसम्म दुई सयको हाराहारीमा बिरामी गिद्धको उपचार गरेको जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवं चराविद् डिबी चौधरीले बताए । गत वर्ष विष हालेर मरेका जङ्गली जनावर खाएर नवलपुरमै बिरामी परेका ६ वटा गिद्धलाई बचाउन सकिएको उनको भनाइ छ । यहाँ गिद्ध मात्र नभएर अन्य पन्क्षीहरुको पनि उपचार गरिरहेको बताए । ‘नेपालको कुनै पनि भागमा चिल, उल्लु र गरुड प्रजातिका पन्क्षी बिरामी भए भने स्थानीयले हामीलाई खबर गर्नुहुन्छ, हामी तत्काल गएर उद्धार गरी उपचार गर्छौँ, चौधरीले भने । अहिले देशभर ७ वटा गिद्धलाई आहार खुवाउने यस्ता रेस्टुरेन्ट सञ्चालनमा भए पनि उनीहरूको उपचार भने कावासोतीमा मात्र हुने गरेको चौधरीको भनाइ छ । अन्यत्र सञ्चालनमा भएका रेस्टुरेन्टमा बिरामी हुँदा उपचार गर्ने पद्धति नभएकाले यही ल्याएर उपचार गर्ने गरेको उनले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology