नेकपा एस नवलपुरमा पहिरो : जिल्ला अध्यक्ष सहित ५ दर्जन बढिले गरे पार्टी परित्यागको घोषणा

NAWALPUR TIMES

कावासोती । नेकपा एकीकृत समाजवादी नवलपुरका जिल्ला अध्यक्ष झविलाल राना सहित नवलपुरमा ५ दर्जन नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छ्न ।

समाजवादी लक्ष्य बोकेको पार्टीमा केन्द्रिय निरंकुशता हावी भएको भन्दै जिल्ला कमिटी अध्यक्ष राना सहितका पदाधिकारीहरु र सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, युवा संघका जिल्ला अध्यक्ष सहितका पदाधिकारीहरु तथा समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य सहितको ठूलो समुहले पार्टी परित्यागको घोषणा गरेका हुन ।

गत भदौ ३० गते गण्डकी प्रदेश कमिटीले जारी गरेको अन्तर पार्टी निर्देशनमा पार्टीको जिल्ला ईन्चार्जमा केन्द्रिय सदस्य शालिकराम भट्टराईलाई मनोनयन गरेको प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै केन्द्रिय कमिटी र प्रदेश कमिटीलाई ध्यानाकर्षण र अवगत गराएको भए पनि सुनुवाइ नभएको भन्दै शनिबार पार्टी परित्यागको घोषणा गरेका हुन ।

जिल्ला ईन्चार्ज बनाईएका भट्टराईले पटक पटक पार्टी हित विपरीत काम गरेको भए पनि भट्टराईलाई ईन्चार्जको जिम्मेवारी दिएर पठाए पछि पार्टी भित्र काम गर्ने वातावरण नभएकाले पार्टी परित्याग गर्नु परेको अध्यक्ष रानाले बताए ।

पार्टी परित्याग गर्नेमा जिल्ला अध्यक्ष झविलाल राना, उपाध्यक्ष एवं युवा संघ जिल्ला ईन्चार्ज प्रेम नारायण पाण्डे, जिल्ला कमिटी उपसचिवहरु हुमकान्त पराजुली र गोविन्द सुनार, प्रदेश कमिटी सदस्यहरु श्यामप्रसाद भुर्तेल, खगराज कंडेल र रामप्रसाद पाण्डे, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य खगेन्द्र पराजुली, युवा संघका जिल्ला अध्यक्ष सुन्दरजंग कुँवर, उपाध्यक्ष लक्ष्मण पाण्डे, सचीव ॠषिराम डुम्रे, कोषाध्यक्ष समीक्षा मर्दनिया, हुप्सेकोट गाउँ कमिटी अध्यक्ष दामोदर शर्मा सहित ३१ सदस्य गाउँ कमिटी लगाएतका ५ दर्जन बढी नेता तथा कार्यकर्ता रहेका छ्न ।

पार्टी परित्याग गरे पनि कम्युनिस्ट विचारधारा बाट अलग नहुने उनिहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology