निराहार व्रत बसि भगवान जितवाहनको पुजा गरेर थारु महिला जितिया मनाउदै

NAWALPUR TIMES

निराहार व्रत बसि भगवान जितवाहनको पुजा गरेर थारु महिला जितिया मनाउदै
Jitiya 1599705655

कावासोती । पुर्वी नवलपरासी सहित तराईका थारु महिलाहरुले आज जितिया पर्व धुमधामका साथ मनाउदै छ्न ।

जितिया पर्व दोस्रो तथा मुख्य दिन आज थारु महिलाहरु ले निराहार व्रत बसेर हर्ष उल्लासका साथ मनाउदै छ्न । अश्विन कृष्णपक्षको सप्तमी , अष्टमी तथा नवमी तीन दिन गरेर मनाईने यो पर्व तराईका थारु समुदायका महिलाहरुको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो ।

जितिया पर्वको पहिलो दिन अश्विन कृष्णपक्षको सप्तमीको दिन दिन सबेरै नजिकको नदि तथा तलाउमा गएर पिनाले नुहाउने गर्दछ्न ।निराहार वर्तको अघिल्लो दिन भएकाले यो दिन अबेर राती सम्म डटकट अर्थात दर खाने गरिन्छ । विशेष गरेर दिउँसो मछुवारी (माछा मार्न) जाने र साँझमा सोही माछा र अनदीको चामल बाट बनाईएको विषेश परिकार “चिचर” डटकटको रुपमा खाने चलन छ ।

डटकट (दर खाने दिन)को भोलिपल्ट अर्थात जितियाको मुख्य दिन थारु महिलाहरु निराहार व्रत बस्ने गर्दछ्न । पानी सम्म नखाई बसिने व्रत भएकाले यो व्रतललाई कठिन वर्तको रुपमा लिईन्छ । आजको दिन सबैरै गाउँटोलका सबै दिदीबहिनीहरु जम्मा भई जलाशयमा गई नुहाउने गर्दछन् र दिनभर कठोर व्रत बस्ने गर्दछन् । दिनभर सामुहिक रुपमा जम्मा भएर गोलै घेरा हालेर थारु महिलाहरु घर घरमा गएर झम्टा नाँच नाँच्ने गर्दछन् भने बेलुका गाउँका सबै व्रतालु एकै ठाउँमा जम्मा भएर थारु गुरौ (पुजारी) बाट जितवाहन भगवानको कथा सुन्ने गर्दछन् । जितवहानको कथा सुन्नु अघि व्रतको दिन बिहान नुवाईधुवाई गरेर पन्चकन्या द्वारा ल्याईएको धानको गाव (गाँज) लाई बिचमा राखेर कथा सुनाउन आग्रह गर्दै बदहा गाए पछि थारु गुरौ (पुजारी)ले व्रतालुहरुलाई कथा सुनाउने चलन छ ।

तेस्रो अर्थात अन्तिम दिन पारन करनाका रुपमा थारु महिलाहरु मनाउने गर्दछन् । व्रतालु महिलाहरु पूजाका सामाग्री लिएर जलाशयमा जाने र नुहाइ सकेपछि अघिल्लो दिन भिजाएको जाकुरी र पानीबाट पारन गर्दछन । विधिपूर्वक पारन गरेपछि फलहार गरि जितिया पर्वको व्रत समाप्त गर्ने गर्दछन् । अन्तिम दिन दहि, चिउरा र केरा मिलाएर पारन खाने चलन छ ।

अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् दीर्घायुको कामना गर्दै ब्रत बसिने जितिया पर्वमा सत्य र असत्यसँग जोडिएको जितबाहनकथा जस्तै आफ्नो सन्तान पराक्रमी होस् भन्ने कामना गर्ने गरिने थारु अगुवा एवं पुजारी देविराम गुरौले बताउनु भयो । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने गर्ने र आफन्तकोमा कोसेली पुर्‍याउने चलन भएको थारु अगुवा एवं पुजारी देविराम गुरौले बताउनु भयो । पुर्वी नवलपरासी सहित तराईका सबै जसो जिल्लामा मनाईने जितिया पर्वको पुजा तथा व्रत विधि ठाउँ अनुसार फरक फरक रहेको गुरौंले बताउनु भयो ।

नव विवाहित महिलाहरूका लागि जितिया पर्वले अझ बढी महत्त्व राख्ने गर्छ । भर्खर भर्खर विवाह भई गएका छोरी बेटीलाई माइती पक्षले बोलाउने एउटा बहानाको रूपमा समेत जितिया पर्वलाई लिने गरिन्छ। यो पर्वको अवसरमा दाजु, भाइ वा माइती पक्ष वाट कोही गई नयाँ दुलहीलाई माइत बोलाउने चलन रहेको छ। दाजु भाइ दिदी बहिनी तथा परिवारका सदस्यहरु सबै एकै ठाउँमा भेट हुने एउटा मौकाको रूपमा पनि यस पर्वलाई लिने गरिएको पुजारी गुरौले बताउनु भयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology