नारायणघाट–बुटबल सडक : ठेकेदार कम्पनीसँगको सम्झौता तोड्नसक्ने सरकारको चेतावनी

NAWALPUR TIMES

नारायणघाट–बुटबल सडक : ठेकेदार कम्पनीसँगको सम्झौता तोड्नसक्ने सरकारको चेतावनी
Dibendra dahal

बोमलाल गिरी, कावासोती । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नारायणघाट–बुटबल सडक खण्डको ठेकेदार कम्पनीसँगको सम्झौता तोडिन सक्ने चेतावनी दिएका छन् । बुटबलदेखि नारायणघाटसम्मको सडक अनुगमनपछि जिल्ला समन्वय समितिले गरेको कार्यक्रममा मन्त्री दाहालले यस्तो चेतावनी दिएका हुन् ।

अनुगमनका क्रममा सडकको भौतिक प्रगति सन्तोषजनक नरहेको उनको भनाई छ । चिनीयाँ ठेकेदार कम्पनीले सोचेअनुसार काम नगरेकाले चिनीयाँ राजदुतमार्फत कुरा गर्नु पर्ने र काम गर्न नसक्ने हो भने ठेक्का तोडिने बताए ।  ‘सडक विस्तारका लागि अन्तिम पटक म्याद थपिएको हो, चिनीयाँ ठेकेदारले अन्तिम अवधिमा पनि काम गर्न सकेन भने सडकलाई यत्तिकै लथालिंग अवस्थामा छोड्ने कुरा हुँदैन, राज्यलाई घाटा नै भए पनि सरकार ठेक्का तोड्न तयार छ, मन्त्री दाहालले भने ।

अवको केही समय भित्र परिणाम देखिएन भने अव सरकार धेरै सोचेर बस्ने अवस्थामा नरहने उनको भनाइ छ । ‘ठेकेदार कम्पनी कोमामा पुगिसकेको घोषणा हामीले गरेका छैनौं तर त्यो दिशा तिर गइरहेको छ, मन्त्री दाहालले भने ।

भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले ठेकेदार कम्पनीले अन्तिम पटक थपिएको समयावधीमा काम सम्पन्न गर्ने विश्वास व्यक्त गरे । ‘इमान्दारी पूर्वक प्रयास गर्दा गर्दै सकेनछ भने दुई/तीन महिना थप्न सकिन्छ, नभए जरिवाना असुल गर्ने अर्को प्रकृया हुन्छ, त्यो पनि भएन भने ठेक्कै तोडेर नयाँ ठेक्का गर्ने प्रकृया अघि बढाउनु पर्ने अवस्था आउँछ, सचिव शर्माले भने ।

नारायणघाट-बुटबल सडक खण्डको हालसम्मको भौतिक प्रगति ५२ प्रतिशत रहेको ठेकेदार कम्पनीले जनाएको छ । झण्डै १७ अर्बमा ठेक्का सम्झौता भएकोमा सरकारले ४५ प्रतिशत रकम भुक्तान गरिसकेको सचिव शर्माले जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री महेन्द्रध्वज जिसीले ठेकेदार कम्पनीको लापरवाही अत्यधिक बढेको भन्दै जनताले भने झै सडकमा लगेर कोर्रालगाउनु पर्ने अवस्था आएको बताए । जिसीले ठेकेदारले यही ढंगले लापरवाही गरे सरकारले यसको विकल्प खोज्नु पर्नेमा पनि जोड दिए ।

गण्डकी प्रदेश सभा सदस्य विन्दु पौडेलले बुटवल–नारायणगढ सडकका कारण यात्रु तथा यहाँका स्थानीयले निकै सास्ती खेप्नु परेको उल्लेख गर्दै तत्काल ठेकेदार कम्पनीसँग छलफल गरेर द्रुतगतीमा काम गर्न निर्देशन दिनु पर्नेमा जोड दिइन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology