नवलपुरको नमूना सदरमुकामका लागि खरिद प्रक्रिया सुरु गरिने

NAWALPUR TIMES

नवलपुरको नमूना सदरमुकामका लागि खरिद प्रक्रिया सुरु गरिने
received 873283151152612

कावासोती । नमूना सदरमुकाममा जिल्ला प्रशासन कार्यालय सहित २ वटा एकीकृत भवनका लागी खरिद प्रक्रिया सुरु गर्ने निर्णय भएको छ ।

मंगलबार नमूना सदरमुकाम निर्माण स्थलमा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र २ वटा एकीकृत भवन निर्माणका लागी सघन शहरी भवन निर्माण  विभाग चितवन मार्फत खरिद प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

नमूना सदरमुकामका लागि अर्थ मन्त्रालयले गत माघ २९ को मन्त्री स्तरीय निर्णय अनुसार चालू आवको बजेट समेत गरि ५० करोड बजेटको स्रोत सहमति दिएकाले तत्काल जिल्ला प्रशासन कार्यालय सहित अन्य २ वटा एकीकृत भवन निर्माणका लागि खरिद प्रक्रिया सुरु गर्ने निर्णय बैठकले गरेको हो ।नवलपुर क्षेत्र नम्बर २ का सांसद बिष्णु कुमार कार्कीको नेतृत्वमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम बिश्वकर्मा सहितको टोलिले गत माघमा तात्कालिक अर्थ मन्त्री डाक्टर प्रकाश शरण महतलाई भेटेर बजेट थप गर्न आग्रह गरेको थियो ।

त्यसै गरि बैठकले जिल्ला समन्वय समिति, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, जिल्ला कारागार तथा सुधार गृह,यातायात सेवा कार्यालय तथा पुर्वाधार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला कार्यालयका लागि दोस्रो चरणका लागि प्राथमिकतामा राखेर बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अगाडी बढाउन माग गरि पठाउने निर्णय गरेको हो ।

विसं २०७६ वैशाख ७ गते नवलपरासीको कावासोतीमा नमूना सदरमुकामको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलिले शिलान्यास गरेका थिए । नमूना सदरमुकामका लागि जिल्लाको कावासोती नगरपालिका–३ मा रहेको वनको एक सय ८६ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याएर निर्माण प्रक्रिया अगाडि बढाउने भनिए पनि हरेक वर्ष बजेट फृज हुँदै आएको थियो ।

सदरमुकाम निर्माण गर्ने स्थानमा सरकारी कार्यालय जिल्ला प्रशासन, जिल्ला अदालत, जिल्ला सरकारी वकिल, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, जिल्ला समन्वय समिति, मालपोत, नापी, निर्वाचन, शिक्षा समन्वय इकाई, ट्राफिक, करदाता, पुनः निर्माण प्राधिकरण नवलपुर आयोग, जिल्ला कारागार रहने डिभिजन वन, पूर्वाधार विकास कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, यातायात व्यवस्था सेवा, आयुर्वेद, कृषि ज्ञान केन्द्रलगायतका कार्यालय बन्नेछ । त्यस्तै पाँच हजारसम्म मानिस अट्ने सभाहल, व्यवस्थित पार्क, चमेना गृह, झन्डै १५ बिघामा २५ हजार दर्शक अट्ने आधुनिक फुटवल मैदान, कभर्डहलसहितका संरचना निर्माण गर्ने योजना छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology