तीनतिरबाट पहिरोको जोखिममा विद्यालय र सिङ्गो गाँउ

NAWALPUR TIMES

तीनतिरबाट पहिरोको जोखिममा विद्यालय र सिङ्गो गाँउ
pahiro

कावासोती। नवलपुरको बुलिङटार गाउँपालिका–४ को अर्खलामा गएको पहिरोले यहाँको सेतीनाग माध्यमिक विद्यालयलाई तीनतिरबाट घेरेको छ । यसरी पहिरोले घेरिँदा त्यहाँ पढ्ने २२३ जना विद्यार्थीको ज्यान जोखिममा छ ।

समुद्री सतहदेखि ९२७ मिटर उचाइमा रहेको यो विद्यालयलाई पश्चिमतिरबाट पहिरोले छुन ५०/६० मिटर मात्र बाँकी छ । त्यसै कारण विद्यालयको बिमसमेत चर्किइसकेको छ । पहिरोको त्रासले हरेक वर्ष विद्यार्थीको सङ्ख्या घटिरहेको विद्यालयका प्रधानाध्यापक खेमबहादुर सुस्लिङले बताउनुभयो । उहाँका अनुसार गत शैक्षिक सत्रमा २४० जना विद्यार्थी अध्ययनरत रहेकोमा यस शैक्षिक सत्रमा घटेर २२३ जना मात्र भर्ना भएका छन् ।

“राति मात्र होइन पानी पर्दा दिउँसो पनि पहिरोको जोखिम छ, विद्यार्थीहरू कतिबेला, कसरी भाग्ने भन्ने मानसिकतामा मात्र हुन्छन्,” प्रधानाध्यापक सुस्लिङले भन्नुभयो, “यसले गर्दा विद्यार्थीमा पढ्ने ध्यान पनि हुन्न अनि यस्तो पहिरोको जोखिम भएको विद्यालयमा किन पढ्ने भन्ने कुराले पनि विद्यार्थी सङ्ख्या घटेको छ । अब दुई तीन जना थपिएलान् नत्र यस सत्रको विद्यार्थी सङ्ख्या यत्ति हो ।”

२०१६ सालमा स्थापना भएको विद्यालयमा पहिरोको जोखिम हुनुअघि विद्यार्थीको उपस्थिति बाक्लो थियो । तर अन्यत्र नजिकै पढाउने विकल्प पनि नभएपछि अभिभावकहरू नै बसाइँ सरेर सहर झर्न थालेपछि विद्यार्थी सङ्ख्या घटिरहेको विद्यालय प्रशासनले जनाएको छ ।

“हिउँदको समयमा त बरु ठिकै छ तर जब बर्खा लाग्छ न विद्यार्थीको ध्यान पढाइमा जान्छ, न त शिक्षक शिक्षिकाको नै । जब कालो बादल मडारिँदै जान्छ, आकाश गर्जिन थाल्छ, विद्यार्थीको मुटुले पनि ठाउँ छोड्ला जस्तो हुन्छ,” सहायक प्रधानाध्यापक सुन्दरमणि सुवेदीले भन्नुभयो, “शिक्षक शिक्षिकाहरू केही भइहाल्यो भने खबर गर्नु है भन्दै कक्षा कोठामा छिर्नुहुन्छ ।”
सुवेदीका अनुसार कालीगण्डकी कोरिडोरलाई फराकिलो बनाउने क्रममा खराब इन्जिनियरिङका कारण २०७६ सालमा ठुलो पहिरो गएको थियो । हरेक वर्ष पहिरो थप फराकिलो हुँदै गएपछि विद्यार्थीमा झन् मानसिक त्रास बढ्दै गएको छ । “झ्यालबाट हेर्दा पनि पहिरो देखिन्छ, पानी प¥यो भने त विद्यालयसँगै हामी सबैलाई बगाउला कि भन्ने डर लाग्छ, कक्षा ९ मा अध्ययनरत सुस्मिता सारूले भन्नुभयो, “कसैले पहल गरेर हाम्रो विद्यालय जोगाइदिए हुन्थ्यो ।”

नजिकै अर्को विद्यालय नभएकाले विद्यार्थीलाई बसाइँ सरेर जानुको विकल्प पनि छैन । जति जोखिम भए पनि ठाउँको अभावले विद्यालयलाई स्थानान्तरण गर्न सकिने अवस्था नरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर पुलामीको भनाइ छ ।

पहिरोले विद्यालय मात्र होइन १८० घरधुरी रहेको यहाँको सुन्दर बस्ती पनि जोखिममा छ । पहिरो नियन्त्रणका लागि अनेक प्रयास गर्दा पनि कतैबाट सहयोग नपाएको बुलिङटार गाउँपालिका–४ का अध्यक्ष मीनबहादुर आलेले गुनासो गर्नुभयो ।

विद्यालयसँगै सिङ्गो गाउँलाई तीनतिरबाट पहिरोले घेरेपछि पटक पटक गाउँ जोगाउनका लागि दलका नेता, सासंद, मन्त्री सबैकोमा धाएको उहाँको भनाइ छ ।

जति प्रयास गर्दा पनि कसैले कुरा नसुनिदिएपछि अध्यक्ष आलेलाई गाउँ जोगाउने चिन्ताले पिरोलिरहेको छ । “गाउँलाई तीनतिरबाट पहिरोले घेरेको छ, कति बेला पहिरो खसेर गाउँनै लैजान्छ, पानी पर्‍यो कि कति बेला के हुने हो भन्ने डरले अत्याउँछ,” अध्यक्ष आलेले भन्नुभयो ।फलफूल चोक–कोखे (कावासोती–बुलिङटार) सडकका अध्यक्ष लालचन श्रेष्ठले पनि पहिरो नियन्त्रणका लागि सबैतिर आग्रह गर्दा पनि पहल हुन नसकेको गुनासो गर्नुभयो । “इन्जिनियर लगेर पनि पहिरो देखाइयो, सडक विभागका महानिर्देशक, सांसद, मन्त्रीसम्मलाई यसबारे जानकारी दिएर निगालो, बाँस रोप्नका लागि बजेट निकासा गर्न आग्रह गरियो तर कतैबाट पनि पहल भएन,” श्रेष्ठले भन्नुभयो । यो बाटो सडक डिभिजन कार्यालय चितवनले हेर्छ । सडक डिभिजन चितवनले भने उक्त पहिरोको अध्ययन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभाग काठमाडौँलाई पत्राचार गरिएको जनाएको छ ।

“अर्खलाको पहिरो ठुलो समस्या हो, त्यसको अध्ययन गर्न हामीले सडक विभागको भूवातावरण तथा सामाजिक शाखा काठमाडौँलाई पत्राचार गरेका छौँ,” डिभिजन प्रमुख रमेशप्रसाद पौडेलले भन्नुभयो, “अध्ययनको निष्कर्ष आइसकेपछि पहिरो रोकथाम र नियन्त्रण गर्न के कति पैसा चाहिन्छ, त्यसपछि मात्र बजेट विनियोजनको कुरा हुन्छ । सकेसम्म हामीले आगामी बजेट विनियोजन अघि नै अध्ययन गर्न आग्रह गरेका छौँ ।”-गोरखापत्रबाट

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology