तत्काल काममा नफर्के चिनीयाँ ठेकेदारलाई म्याद थपको पत्र नदिइने सडक विभागको चेतावनी

NAWALPUR TIMES

तत्काल काममा नफर्के चिनीयाँ ठेकेदारलाई म्याद थपको पत्र नदिइने सडक विभागको चेतावनी
1722354637422

बोमलाल गिरी, नवलपुर। सरकारले तत्काल नारायणघाट–बुटबल सडक खण्ड निर्माणको काम अघि नबढाए चिनीयाँ ठेकेदार कम्पनीलाई म्याद थपको पत्र नै नदिने चेतावनी दिएको छ ।

चिनीयाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन प्रालिले कात्तिक १५ गतेपछि मात्र सडक विस्तारको काम सुरु गर्ने बताएपछि सरकारले यस्तो चेतावनी दिएको हो । सडक विभागका आयोजना निर्देशक चुडाराज ढकालले ठेकेदार कम्पनीले वर्षाका कारण भन्दै कात्तिक १५ गतेदेखि मात्र कालोपत्रेसहित विस्तारको काम अघि वढाउने प्रस्ताव राखेको जानकारी दिए ।

‘‘वर्षाले गर्दा मर्मतबाहेक अन्य सडक विस्तारको काम कात्तिक मध्यदेखि मात्र गर्ने प्रस्ताव ठेकेदार कम्पनीले गरेको थियो, निर्देशक ढकालले भन्नुभयो, ‘‘मैले कुनै पनि हालतमा हुन्न भनेर थर्काएर पठाएको छु, सायद एक डेढ हप्तामा काममा फर्कन्छ होला ।’’

तत्काल काममा नफर्के ठेकेदार कम्पनीको म्याद थपको पत्र नदिने चेतावनी दिएको पनि उहाँले बताउनु भयो । ’’हामीले अहिलेसम्म उनीहरुलाई म्याद थपको पत्र पनि दिएका छैनौं, अनेक बहाना हामीलाई स्वीकार्य छैन, तत्काल सडक विस्तारको काम नगर्ने हो भने हामी म्याद थपको पत्र दिन सक्दैनौं, ढकालले भने ।

यही साउन ८ गते सरकारले चिनीयाँ ठेकेदार कम्पनीको म्याद तेस्रो पठक ८ गतेदेखि नै लागु हुने गरी साउन १० गते एक वर्ष थप गरेको थियो । तर म्याद थपिए पनि सडकमा ठेकेदार कम्पनीको उपस्थिति छैन ।

ठेकेदारको कार्यालयमा प्रशासनको छड्के
म्याद थपिँदा पनि सडकमा कामदार नदेखेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले चिनीयाँ ठेकेदार कम्पनीको कार्यालय गैँडाकोटमा छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा कार्यालयमा एक जना गार्डबाहेक कुनै कर्मचारी नभेटिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिए ।

‘‘म्याद थपिएको यत्रो दिन हुँदा पनि सडकमा कुनै गतिविधि नदेखिएपछि अनुगमनका लागि छड्के निरीक्षण गरेका थियौं, तर सबै कर्मचारी काठमाडौं गएर बसेका रहेछन्, कार्यालय एक जना गार्डको भरमा रहेछ ।’’ कार्यालय कर्मचारीविहिन भएपछि ठेकेदार कम्पनीलाई कार्यालयमा र सडकमा उपस्थित नहुनुको करणसहित स्पष्टिकरण सोधेको प्रजिअ पोख्रेलले बताए ।

महंगीको जिम्मा ठेकेदारकै
सरकारले सडक विस्तारमा जति नै धेरै हेलचेक्राई गरेपनि त्यसको घाटा स्वयं कम्पनीलाई नै हुने स्पष्ट पारेको छ । ‘‘पछिल्लो पटक थपिएको म्यादपछि महंगीले सामानको भाउ जति नै बढेपनि त्यसको जिम्मा स्वयं ठेकेदार कम्पनीले व्यहोर्ने भनेर माईनुट गरेका छौं, सडक विभागका आयोजना निर्देशक चुडाराज ढकालले भन्नुभयो, ‘‘त्यसैले जति धेरै ठगठाग गर्छ, उति नै घाटा उसैलाई पर्छ ।’’

सडक आयोजना उभियो ठेकेदारका पक्षमा
सबै तिरबाट तत्काल सडक विस्तारको काम अघि बढाउनु पर्ने आवाज उठिरहेका बेला सठक आयोजना पूर्वी खण्ड भने ठेकेदारकै पक्षमा उभिएको छ । पूर्वी खण्डका सडक आयोजना प्रमुख आशिष थापाले अवको दुई अढाई महिना खासै द्रुत रुपमा काम मौसम नभएको प्रतिक्रिया दिए ।

‘‘साउन भदौमा कतिबेला पानी पर्छ भन्नै सकिन्न, त्यसैले काम हुने अवस्था पनि रहेन, असोज लागेपछि दशै तिहारको माहोल हुन्छ, आयोजना प्रमुख थापाले भन्नुभयो, ‘‘त्यसैले अव तिब्र गतिमा काम हुने भनेको कात्तिक १५ पछि हो ।’’

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology